सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इजरायल–हमास युद्ध: तेलको भाउमा कस्तो पर्ला असर ?


  •    न्युजभित्तो/२४ आश्विन २०८०, बुधबार १२:०२ 
  • काठमाडौँ, २४ असोज । इजरायल र प्यालेस्टाइनी सशस्त्र समूह हमासबीच युद्ध सुरु भएसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा फेरबदल देखिन थालिसकेको छ । युद्धले मध्यपूर्वमा तेलको उत्पादनमा कस्तो प्रभाव पार्ला भन्नेबारे अड्कलबाजी बढिरहँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल महँगिन थालेको हो ।

    सोमबार लन्डनस्थित आईसीई एक्सचेन्जको कोमक्स डिभिजनमा कच्चा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ४ दशमलव २ प्रतिशतले बढेर ८८ डलर १५ सेन्टमा उक्लियो । न्यूयोर्कस्थित न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्लयूटीआई)को भाउ पनि उक्त दिन ४ दशमलव ३ प्रतिशतले बढेर प्रतिब्यारेल ८६ डलर ३८ सेन्टमा उक्लियो ।

    यसैबिच मंगलबार तेल बजारमा भाउ केही घटेको छ । यो समाचार तयार पार्दासम्म मंगलबार ब्रेन्ट क्रुडको भाउ अघिल्लो दिनको भन्दा शून्य दशमलव ६ प्रतिशत र डब्लयूटीआई शून्य दशमलव ४९ प्रतिशत तल किनबेच हुँदै थियो ।

    इजरायल र गाजा दुवैले उल्लेख्य रूपमा तेल उत्पादन गर्ने होइनन् । अहिले अधिकांशलाई डर चाहिँ यो युद्धले मध्यपूर्वभर नै अस्थिरता उत्पन्न गराउने अनि सो क्षेत्रको तेल उत्पादन वा तेलको ढुवानी प्रभावित हुने हो कि भन्नेमा छ । मध्यपूर्वमा इरान, साउदी अरब जस्ता विश्वका शीर्ष तेल उत्पादक देशहरू छन् । विश्वको तेल बजारमा महत्त्वपूर्ण चेकप्वाइन्टको रूपमा रहेको हर्मुज खाडी पनि यही पर्छ ।

    निकट भविष्यमा तेलको भाउ कस्तो होला ?

    तेलको भाउमा युद्धको असर जारी द्वन्द्वले कस्तो स्वरूप लिन्छ भन्नेमा भर पर्छ । तर अहिले नै तेलको भाउमा असर चाहिँ सीमित हुने बताउँछन् विश्लेषकहरू । गएको वर्षको सुरुतिर रुसले युक्रेनमा आक्रमण गरेपछि विश्व बजारमा तेलको भाउ बढेर कीर्तिमानी स्तरमा उक्लिएको थियो । रुस विश्वको शीर्ष तेल उत्पादन गर्ने देशहरूमध्ये एक भएकोले युद्धको प्रभावले तेलको भाउ आकासियो ।

    इजरायली सेना र हमासबीचको लडाइँमा अहिलेसम्म इजरायल र गाजामा १ हजार ५०० भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । यो युद्धमा तेल उत्पादन गर्ने शीर्ष देशहरूको प्रत्यक्ष संलग्नता छैन ।

    अमेरिकी लगानी बैंक मोर्गन स्ट्यान्लीले सोमबार एउटा प्रेस नोटमा भने अनुसार निकट भवियमा तेलको आपूर्तिमा अवरोध उत्पन्न हुने जोखिम निकै थोरै छ । तर द्वन्द्व अन्य देशमा पनि भड्कियो भने चाहिँ अवस्था फेरिन सक्ने उसको भनाइ छ ।

    अहिलेको घटनाक्रमले तेलको भाउमा प्रभाव चाहिँ सीमित भएको कर्नरस्टोन एनालिटिक्सका अध्यक्ष तथा संस्थापक माइक रोथम्यानले भनेको भन्दै अलजजिराले एउटा समाचारमा भनेको छ । यो द्वन्द्वले विश्वमा तेलको माग प्रभावित बनाउँछ भन्ने धारणा उनको छैन । न त यसले प्रमुख तेल निर्यातकर्ता देशहरूको दीर्घकालीन उत्पादनलाई नै प्रभावित बनाउने उनले देखेका छन् । अन्यत्र कच्चा तेलको सञ्चितिमा आइरहेको कमी लगायत कारणले भने तेलको भाउ प्रभावित पार्न सक्ने रोथम्यान बताउँछन् ।

    के भयो भने बढ्ला तेलको भाउ?

    अहिलेका लागि तेलको भाउ बढाउन सक्ने दुई वटा सम्भावित कारण जारी युद्धमा इरान र लेबननस्थित सशस्त्र समूह हजबुल्लाहको संलग्तालाई हेरिएको छ । सीमावर्ती क्षेत्रमा तनाव बढिरहँदा इजरायलले हानेको बमबारीमा परेर आफ्ना तीन सदस्यको मृत्यु भएपछि सोमबार हजबुल्लाले एक पछि अर्को गर्दै रकेट प्रहार गरेको थियो ।

    हमासले शनिवार गरेको अप्रत्याशित आक्रमणमा आफ्नो संलग्नताको इरानले खण्डन गरेको थियो । वाल स्ट्रिट जर्नलले भने सो आक्रमणमा इरानी सुरक्षा अधिकारीहरूले सहयोग गरेको दाबी गर्दै समाचार लेखेको थियो ।

    इरानको संलग्नताले तेलको भाउमा पर्ने असर कस्तो होला?

    अमेरिका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा इरानी तेलमाथि पुनः प्रतिबन्ध लगाएका थिए । सन् २०२२ मा इरानको तेल निर्यात र उत्पादन दुवै बढ्यो । यो वर्ष इरान र वाशिङटनले इरानको विवादास्पद परमाणु कार्यक्रमबारे छलफल पुनः सुरु गरेका थिए । हमासको आक्रमणमा इरानको संलग्नता एउटै प्रमाण भेटियो भने सो वार्ता त बिथोलिने छ नै अमेरिकाले इरानी तेलमाथि थप प्रतिबन्ध लगाउने पक्कापक्की छ ।

    तेलको भाउमा हालै देखिएको वृद्धिले इजरायल र हमासबीच जारी युद्धको आगो झनै भड्किएर मध्य पूर्वका अन्य देशहरू पनि यसमा होमिने पो हो कि भन्नेप्रति तेल बजार सशङ्कित छ भन्ने सङ्केत गरेको वूड म्याकिन्जेका विश्लेषक एलन गेल्डरले भनेका छन् । तत्कालीन प्रभाव भने इरानी निर्यातमा अमेरिकाले प्रतिबन्ध लगाउने हो । यो द्वन्द्वमा इरान पनि मुछियो भने तेलको भाउ प्रतिब्यारेल ५ देखि १० डलरसम्म बढ्न सक्ने र्यापिडियन इनर्जी ग्रुपका अध्यक्ष बब म्याकनल्लीले सोमबार सीएनबीसीसँगको एउटा अन्तरवार्तामा भनेका थिए ।

    अहिले तेलको भाउमा भएको वृद्धिले इजरायल र प्यालेष्टाइनबीच सन् १९७३ तेल संकटको झल्को दिएको छ । इजिप्ट र सिरियाले इजरायलमाथि अचानक आक्रमण गर्दा तेलको भाउ आकासिएको थियो । सो द्वन्द्वमा अमेरिकाले इजरायललाई समर्थन गरेको प्रतिकारमा अरबका तेल उत्पादक देशहरूले अमेरिका र यसका केही मित्र देशहरूमाथि नाकाबन्दी लगाएका थिए । यो घटना लगत्तै केही महिनामै कच्चा तेलको भाउ बढेर चौबर भएको थियो ।

    तर अहिलेको अवस्था निकै फरक छ । तेलको भाउमा त्यस्तो खालको नाटकीय वृद्धि हुने सम्भावना शून्य बराबर भएको रोथम्यान बताउँछन् । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.