सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नयाँ पर्यटकीय गन्तव्य पुम्दीकोटको विशाल मूर्ति


  •    न्युजभित्तो/९ श्रावण २०८०, मंगलवार १६:४२ 
  • गण्डकी,९ साउन। देशका अधिकांश स्थानमा सुविधाको खोजी गर्दै सर्वसाधारण गाउँ छोड्दै हिँड्ने गरेको बेलामा पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा भने विगतमा गाउँ छोड्नेहरू धमाधम घर फर्कन थालेका छन् । जनस्तरको सक्रियतामा पुम्दीकोटमा निर्माण गरिएको ५१ फिट उचाईको विशाल महादेवको मूर्ति यतिखेर विगतमा गाउँ छोड्नेलाई फर्काउन बरदान सावित भएको छ ।

    पोखरा आउने स्वदेशी एवम् विदेशी पर्यटकले नछुटाउने गन्तव्यका रुपमा विकास भएको विशाल महादेवको मूर्तिका कारण यससँगै जोडिएका बाटाघाटा पनि निर्माण भएका छन् भने पर्यटक लक्षित विभिन्न पूर्वाधार बन्ने क्रम पनि उत्तिकै बढेको छ । पुम्दीकोटमा बढ्दै गएको आकर्षणले आँफूहरूलाई निकै उत्साहित बनाएको महादेवको मूर्ति निर्माण अभियानका संयोजक एवम् पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताउनुभयो ।

    “जनस्तरबाट निर्माण गरिएको विशाल महादेव मूर्तिसँगै गुरुयोजनामा समेटिएका अन्य पूर्वाधार निर्माणका काम बढिरहेका छन्”, उहाँले भन्नुभयो, “हालसम्मका संरचना निर्माणमा लगभग रु २६ करोड लगानी भइसकेको छ ।” समितिले मूर्तिसहित संरचना निर्माणका लागि रु ४० करोड लागत अनुमान सहितको गुरुयोजना तयार गरेको थियो ।

    निर्माण कार्यका लागि समिति स्वयम्ले नै सक्रियता देखाइरहेका कारण लक्षित लागत अनुमानमा अन्य बाँकी काम सम्पन्न हुने विश्वास लिएको अध्यक्ष बरालले जानकारी दिनुभयो । पछिल्ला समयमा देशका विभिन्न स्थानका साथै भारतलगायत विदेशी मुलुकबाट पनि पर्यटक पुम्दीकोट पुग्ने गरेका छन् । बढ्दै गएको आकर्षणले पशुपतिनाथ पछिको दोस्रो तीर्थस्थलका रुपमा पुम्दीकोट स्थापित हुने उहाँको विश्वास थियोे ।

    पछिल्लो समयमा पुम्दीकोटको उक्त मूर्तिकै कारण आसपासका क्षेत्रमा पर्यटकीय पूर्वाधारमा लगानी बढिरहेको समितिका सदस्य मातृका बरालले बताउनुभयो । “विगतमा सुविधाको खोजीमा गाउँ छोड्ने पनि विशाल महादेवकै कारण फर्कन थालेका छन्,”, उहाँले भन्नुभयो, “पछिल्ला समयमा होटेललगायत पूर्वाधारमा लगानीको क्रम पनि उत्तिकै बढेको छ ।” पोखराको मुख्य बजार क्षेत्रबाट झण्डै १३ किमी दूरीमा रहेको यहाँ आएर विशाल महादेवको मूर्ति अवलोकनसँगै एकसाथ पोखरा उपत्यकासहित धवलागिरि, अन्नपूर्णजस्ता हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।

    पुम्दीकोटका पर्यटकीय सम्भावनालाई उजागर गर्ने लक्ष्यका साथ विसं २०७३ फागुनमा महाशिवपुराण लगाउँदा रु छ करोड १८ लाखसहित दानस्वरुप २० रोपनी जग्गा प्राप्त भएको थियो भने २०७८ सालमा दोस्रो पटक महायज्ञ लगाउँदा करिब रु तीन करोड सहयोग प्राप्त भएको थियो । निर्माण अभियानमा तीनवटै तहका सरकार र आम सर्वसाधारणको साथ र सहयोग रहेको सदस्य बरालले जानकारी दिनुभयो ।

    कोरोना फेलिएका बेलामा पनि निर्माण कार्यलाई निरन्तरता दिँदै सम्पन्न भएको महादेवमूर्तिसहितका पूर्वाधारले यो क्षेत्र धार्मिक पर्यटकीय गन्तव्यका रुपमा स्थापित भएकोे मूल पुजारी भरत पौडेलले बताउनुभयो । प्रत्येक दिन बिहान ५ बजेदेखि बेलुका सन्ध्याकालीन आरतीसम्म यस धाममा पूजाआजा हुने गरेको बताउँदै उहाँले महत्वपूर्ण तिथि र पर्वमा भीडभाड हुने गरेको जानकारी गराउनुभयो ।

    समितिका सचिव नरहरि बरालका अनुसार मूर्ति स्थापनायता दर्शनार्थीको आगमनसँगै दान सहयोग पनि निरन्तर उठ्ने गरेको छ । भक्तजनबाट हुने गरेको दान सहयोगबाट मात्रै हालसम्म पुम्दीकोटमा रु पाँच करोड सङ्कलन भइसकेको उहाँले जानकारी दिनुभयो । “विशेष तिथि र पर्वमा ठाउँ ठाउँबाट ठूलो सङ्ख्यामा भक्तजन पुम्दीकोटमा आउने गरेका छन्”, उहाँले भन्नुभयो, “गत शिवरात्रिमा मात्रै ५० हजारभन्दा बढी दर्शनार्थी यहाँ आएका थिए ।” हिजो सोमबार झण्डै दस हजारको सङ्ख्यामा दर्शनार्थी पुम्दीकोटमा आएको उहाँले जानकारी दिनुभयो ।

    समितिले वृहत् गुरुयोजनाअनुसार बाँकी काम अघि बढाउँदै गएको छ । मूर्ति स्थापनाका साथै प्रशासनिक भवन र गुरुमहाराज आश्रम निर्माण भइसकेका छन् भने नजिकै पल्लो थुम्कोमा सुमेरु पर्वतकै झल्को दिनेगरि संरचना निर्माण भइरहेको छ । विशालमूर्ति रहेको स्थान९कैलाश० र सुमेरु पर्वतलाई जोड्ने विद्युतीय चियरकार निर्माण गर्ने कार्ययोजनासमेत रहेको छ । यी दुई थान करिब चार सय मिटरको दूरीमा रहेको छ । त्यस्तै शान्ति आश्रम, ज्येष्ठ नागरिक मिलन केन्द्र, हरियाली बगैँचा निर्माण गर्ने लक्ष्य राखिएको छ ।

    शिवलिला, वन्यजन्तुको जीवनचक्र देखाउने प्रोजेक्टर निर्माणका सम्बन्धमा पनि छलफल भइरहेको जानकारी दिँदै सदस्य बरालले त्यसका लागि करिब रु पाँच करोड लाग्ने देखिएको बताउनुभयो । मूर्ति परिसरमा गणेश मनोरेल, शिवलिङ्ग आदि स्थापना भइसकेको जानकारी दिँदै उहाँले परिसरमा आकर्षक प्रवेशद्वार निर्माण भइरहेको बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास
    नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा
    घान्द्रुकमा पर्यटकीय चहलपहल
    • तराई क्षेत्रमा तातो लहरको सम्भावना
    • भैँसीपालन व्यवसाय छाडेर बाख्रापाल: वार्षिक लाखाँै आम्दानी लिन्छन् गौचन
    • पोल पुग्यो, वितरण गरिएन विद्युत
    • विद्युत् महसुुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.