सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ताप्लेजुङको पाथिभरा क्षेत्रमा फुल्न थाल्यो गुराँस


  •    न्युजभित्तो/५ फाल्गुन २०७९, शुक्रबार १६:४६ 
  • ताप्लेजुङ,५ फागुन । ताप्लेजुङको पाथीभरा क्षेत्रमा गुराँस फुल्न सुरु भएको छ । पहाडी जिल्लाको बेँसी क्षेत्रहरुमा माघको दोस्रो सातादेखि नै गुराँस फुल्न थालेको हो ।

    समुद्र सतहदेखि ३ हजार मिटर उचाइमा अवस्थित सुकेटार विमानस्थल वरपर गुराँस फुलेको भेट्न सकिन्छ । पहाडी क्षेत्रमा गुराँस फुल्न सुरु भएसँगै वनजङ्गल राताम्य हुने गर्दछ । स्थानीय व्यवसायी गुराँस फुलेसँगै पर्यटन व्यवसाय फस्टाउने आशमा हुन्छन् ।

    त्यस्तै आशमा छन्, पाथीभरादेवी नजिकै होटल सञ्चालन गरेका युवराज खड्का । गुराँसको सिजनमा उहाँले मनग्य आम्दानी गर्दै आएका छन् । गुराँस ढकमक्क फुल्न थालेपछि व्यापार धेरै हुने गरेको उनले बताए ।

    ‘पर्यटक यहाँ गुराँससँग रमाउन गाडी नै ल्याएर आउँछन् । हामीलाई उहाँहरूको सेवा गर्न भ्याइनभ्याइ हुन्छ’, उनी भन्छन् । यहाँ नयाँ वर्षको दिन पर्यटकको धेरै घुइँचो लाग्छ । उनले भने, ‘गुराँसको महिमाले यहाँ पर्यटकको सङ्ख्या बढेपछि होटल सुरु गर्‍यौँ । डाँडाभरि फुल्ने गुराँस हेरिरहुँ लाग्छ, यी निकै मनमोहक देखिन्छन् ।’

    पर्यटकीय क्षेत्रमा गुराँसमा झुम्मिनेहरू धेरै भेटिन्छन् । हिमाली र पहाडी भेगमा ढकमक्क गुराँस फुलेको हुन्छ । माघदेखि जेठसम्म गुराँस फुल्छ । गुराँसलाई बिम्ब बनाएर धेरै गीत, गजल र कविता लेखिएका छन् ।

    सामाजिक सञ्जालमा गुराँस छेउ उभिएको, हत्केलामा गुराँस राखिएको, कानमा सिउरिएका तस्बिरहरू देखा पर्न थालेको छ । गुराँस बगैँचामा रमाउने र पदायात्रा गर्नेहरू धेरै भेटिन्छन् । तस्बिरमा देखेकाहरू प्रत्यक्ष रूपमा गुराँस देख्दा धेरै रमाउँछन् । गुराँसका पात, बोक्रा र फूल मानिस तथा घरपालुवा जनावरका लागि औषधिका रूपमा प्रयोग गरिन्छ । अचार, सर्वत र रक्सी बनाउन पनि यो झनै उपयोगी हुन्छ ।

    फागुनको दोस्रो सातादेखि पाथीभरा मन्दिर जाने पदमार्गको दायाँबायाँ विभिन्न प्रकारका लालीगँरासका फूलले सजिने गर्दछ । निकै लामो समय गाडीभित्र गुम्सिएर उकुसमुकुस यात्रापछि गाडीबाट ओर्लिने बित्तिकै मनमोहक राष्ट्रिय फूल लालीगुराँस फूलको स्वागतले तीर्थयात्रीमा एक प्रकारको ऊर्जा प्राप्त हुने गर्दछ ।

    लालीगुराँसले पाथीभरा क्षेत्रका वनपाखा रङ्गीन हुने गर्दछ । यस क्षेत्रमा लालीगुराँस माघदेखि नै फुल्न थालेको छ । मौसम परिवर्तनको असरका कारण यस वर्ष चाँडै गुराँस फुल्न थालेको स्थानीयवासीको भनाइ छ ।

    लालीगुराँस फुलेपछि पाथीभरा दर्शनका लागि आउने तीर्थयात्री सबैको मन लोभ्याउने गर्दछ । पाथीभरा जाने पदमार्गमा ढकमक्क गुराँस फुल्न थालेपछि तीर्थयात्रीको सङ्ख्या बढ्दै जाने गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । ढकमक्क फुलेको लालीगुराँस देख्दा सबैको मन लोभ्याउने र आनन्द लिन तथा पाथीभरा देवीको दर्शन गर्न एकै पटक मिल्ने भएकाले अहिले तीर्थयात्रीको सङ्ख्या बढ्दै गएको हो ।

    प्राकृतिक सुन्दरतासँगै विभिन्न प्रजातिका गुराँस फुल्ने याम सुरु भएकाले पाथीभराको दर्शनसँगै गुराँस फुलेको मनोरम दृश्यको अवलोकन गर्न सकिने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए ।

    नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये पाथीभरा क्षेत्रमा मात्र २६ प्रजातिका पाइने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । विश्वमा दुर्लभ वन्यजन्तु रेडपान्डाको बासस्थान पाथीभरा क्षेत्रमा पर्दछ । कालो भालु, मृग, घोरल साथै नेपालमा मात्र पाइने काँडेभ्याकुर, कालिज, नेपालको राष्ट्रिय पन्छी डाँफेलगायत वन्यजन्तु तथा पन्छी पाइने गर्दछन् ।

    पर्यटन मन्त्रलयको आर्थिक सहयोगमा पाथीभरा क्षेत्रमा गुराँस उद्यान क्षेत्रको घोषणसमेत गरिएकाले गुराँसको संरक्षण गर्ने काम भइरहेको छ । यस क्षेत्रमा सुनपाती, रातो चिमाल, चियाफुले गुराँस, नीलो चिमाल, पहेँलो चिमाल, जुँगे चिमाल, सानो चिमाल, लहरे चिमाल जातका गुराँस पाइन्छन् ।

    यस्तै कोर्लिङ, चिमाल, ठेकी झार, प्रजातिका गुराँस पनि पाइन्छन् । यस क्षेत्रमा पात्ले कोर्लिङ, सेतो चिमाल, गुलाबी कोर्लिङ जस्ता प्रजातिसमेत रहेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो: प्रहरी महानिरीक्षक कार्की
    नीति, कार्यक्रम र बजेटमा बालबालिकालाई प्राथमिकता दिइने
    • सुरक्षाकर्मीको भूमिका प्रशंसनीय: मुख्यमन्त्री पाण्डे
    • मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघ मित्र’अभियान
    • रेडपाण्डा संरक्षण गर्न चेतनामूलक कार्यक्रम
    • बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.