सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

छोरीहरु भन्छन्: दाइजो नदिनु, शिक्षामा लगानी गरिदिनुस्


  •    न्युजभित्तो/२३ मंसिर २०७९, शुक्रबार १२:४५ 
  • टीकापुर,२३ मंसिर।  यो विवाहको याम हो । विवाहमा हाम्रो समाजमा दाइजो दिने चलन कायमै छ । छोरीको शिक्षामा लगानी गर्नुको साटो दाइजोमा लगानी गर्ने अभिभावक अझै छन् । छोरी पढाएमा सक्षम हुन्छिन् भन्ने बुझेर पनि समाजमा दाइजो टन्न दिएमा समाजमा इज्जत बढ्छ ठान्नेहरु उत्तिक्कै छन् ।

    शिक्षा दिएर आत्मनिर्भर भइसकेपछि विवाह गरिदिएमा छोरीको भविष्य सुरक्षित हुने भएकाले कैलालीका छोरीहरु शिक्षा आर्जनमा लगानी गरिदिन आग्रह गर्दैआएका छन् । टीकापुरकी रेखा परियारलाई आफूलाई विवाहमा गरिने खर्च शिक्षामा लगानी गरिदिउन भन्ने लाग्छ । रेखाले अभिभावकलाई शिक्षामा लगानी गरिदिनुस्, दाइजो दिनुपर्दैन भन्दैआउनुभएको छ । उहाँको परिवार पनि यो कुरामा सहमत छ ।

    ‘‘म अहिले १२ कक्षा पढ्दैछु । मैले मेरो अभिभावकलाई मलाई सकेजति शिक्षामा लगानी गरिदिनुस्, मलाई पछि विवाह गर्दा केही दिनुपर्दैन भनेकी छु’’, रेखाले भन्नुभयो, ‘‘बुबाआमा सहमत हुनुहुन्छ, उहाँहरुले पनि तिमी पढ, हामी लगानी गर्छौं भन्नुभएको छ ।’’ रेखा आफू पढेलेखेर सक्षम भएमा भोलि आर्थिक समस्या झेल्नु पर्दैन भन्नुहुन्छ ।

    अहिले पनि अभिभावक छोरीलाई उच्च शिक्षाभन्दा विवाहमा बढी खर्च गर्नमै रुमल्लिएका पाइन्छन् । कैलालीकै सुविना साउँद अहिले स्नातक पढ्दै हुनुहुन्छ । उहाँलाई इञ्जिनियर बन्ने धोको थियो । सुविनाले अभिभावकसँग यसका लागि लगानी गरिदिनुस् भन्दा अभिभावक सहमत भएनन् । ‘‘अभिभावकले घरबाहिर गएर बस्दा जोखिम हुन्छ, पढाइमा धेरै लगानी गर्न सकिँदैन भन्न थाले’’, उहाँ भन्नुहुन्छ, ‘‘भाइ कृषि प्राविधिक पढिरहेको छ, तर ममाथि लगानी गरिएन, अहिले घर नजिकैको क्याम्पसमा स्वास्थ्य विषयमा अध्ययन गरिरहेकी छु ।’’

    टीकापुरको सत्तीकी उषा ढुङ्गाना पनि बीबीएस प्रथम वर्षमा अध्ययनरत हुनुहुन्छ । उहाँलाई पनि समाजमा विवाहका समयमा छोरीलाई फर्निचर, सुन चाँदीलगायतका सामान दिएमा सुख हुन्छ भन्ने मान्यता गलत लाग्छ । उहाँ छोरी सक्षम भए पो जीवन सहज हुने भएकाले शिक्षामा जोड दिनु आवश्यक भएको बताउनुहुन्छ ।

    ‘‘मलाई पढेर सक्षम, जागिरे भइसकेपछि विवाह गर्नुछ । मलाई आफू आत्मनिर्भर नभई विवाह गर्नुछैन’’, उहाँ भन्नुहुन्छ, ‘‘मेरो परिवारले मलाई र मेरो भाइलाई शिक्षामा विभेद गर्नुभएको छैन । बराबरी शिक्षा पाइरहेका छौँ । हामी सक्षम भएमा विवाहपछि किन सम्पत्ति चाहियो ?’’

    अभिभावकले दिएको दाइजो टुटेर फुटेर र नगद दिएको रकम खर्च भएर सकिन्छ । तर दिएको शिक्षापछि भएको आत्मर्निभर र सशक्तीकरणलाई कसैले रोक्न सक्दैन । त्यसैले यो समयमा दाइजो दिनुभन्दा छोरीलाई पढाएर, आत्मनिर्भर बनाएर बरु ढिला विवाह गरिदिन उत्तम हुने शिक्षाप्रेमी तथा नागरिक समाजका संयोजक भीमराम चपाइँ बताउनुहुन्छ ।

    ‘‘दाइजोबारे भएका गलत अभ्यास विस्तारै हट्दैछन् । अब छोरी पढाउनुपर्छ भन्नेमा अभिभावक पनि सचेत बन्दैछन्’’, उहाँ भन्नुहुन्छ, ‘‘तर विवाहमा फर्निचर, सुनचाँदी, नगद दिने चलन अझै व्याप्त छ । यो विस्तारै हट्नुपर्छ । यसले हिंसा बढाउनुका साथै छोराछोरीबीचको विभेद बढाएको छ ।’’

    अधिकारकर्मी निर्मला कडायत यस्ता व्यवहार सुधार्न सबैभन्दा बढी अभिभावक नै जिम्मेवार बन्नुपर्ने बताउनुहुन्छ । ‘‘टन्न दाइजो दिएर छिमेकी हेर्छन्, समाजमा इज्जत बढ्छ, विवाहपछि गएको घरमा छोरी सुरक्षित हुन्छे ठान्नु गलत हो’’, उहाँ भन्नुहुन्छ, ‘‘त्यो दाइजोले हिंसा बढाएको छ । पढेलेखेकी जागिरे छोरी भएमा त्यस्ता सरसामान आफैँ जुटाउन सक्ने भएकाले पढाइमा, सीप विकासमा र नेतृत्व विकासमा लगानी गरिदिनुपर्छ ।’’

    शिक्षिका पुष्पा बम आफूहरुले कक्षाकोठामा दाइजोभन्दा शिक्षामा जोड दिनुपर्छ भनेर बालबालिकालाई सचेत गराउँदै आएको बताउनुहुन्छ । ‘‘शिक्षामा लगानी नगर्दा छोरीहरु सक्षम हुँदैनन् । दाइजोका कारण छोरीहरु थप हिंसामा पर्ने भएकाले सबै सचेत बन्नुपर्छ, कक्षामा छलफल गर्ने गरेका र्छौं’’, उहाँ भन्नुहुन्छ, ‘‘छोरीलाई प्राविधिक शिक्षा, छोरी आत्मनिर्भर बनाउने, स्वरोजगार बनाउनतर्फ ध्यान दिऔंँ ।’’ रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो: प्रहरी महानिरीक्षक कार्की
    नीति, कार्यक्रम र बजेटमा बालबालिकालाई प्राथमिकता दिइने
    • सुरक्षाकर्मीको भूमिका प्रशंसनीय: मुख्यमन्त्री पाण्डे
    • मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघ मित्र’अभियान
    • रेडपाण्डा संरक्षण गर्न चेतनामूलक कार्यक्रम
    • बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.