सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आज चन्द्रग्रहण लाग्दै : ग्रहणमा के गर्नु हुन्छ ? के गर्नु हुँदैन ?


  •    न्युजभित्तो/२२ कार्तिक २०७९, मंगलवार १५:३१ 
  • काठमाडौँ,२२ कार्तिक। कार्तिक शुक्ल पूर्णिमामा आज बेलुकी ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आज बेलुकी ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले आजको ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो ।

    ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ । बेलुकी ०५:१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रुपमा देखिने छ । बेलुकी ०५:२७ बजे ग्रहणको उन्मीलन हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए । बेलुकी ०६:३४ बजे ग्रहण सकिन्छ । नेपालबाट ग्रहण एक घण्टा २३ मिनेट देखिने छ । चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताए ।

    ग्रहणको सुतक बार्नेले आज बिहान ०८;११ बजेदेखि भोजन गरेका छैनन् । शास्त्रीय रुपमा बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ । बेलुकी ०६:३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उहाँले बताउनुभयो । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय बचन छ ।

    भरणी नक्षत्र र मेष राशिलाई कष्ट

    आजको ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको समितिले जनाएको छ ।

    चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख गरिएको छ ।

    यसैगरी तुला राशिलाई स्त्रीपीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि उल्लेख गरिएको समितिका कार्यकारी निर्देशक ढुङ्गेलले जानकारी दिनुभयो ।

    ग्रहणमा के गर्नु हुन्छ ? के गर्नु हुँदैन ?

    ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ । अन्न खान बाहेक ग्रहण र यसको सूतकका बेला नित्य कर्म गर्नुहुन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकैको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

    ग्रहणका बेला गर्नु हुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ ।

    निद्रायां जायते व्याधि मुत्रे दारिद्रमाप्नुयात् ।
    पुरिषे कृमियोनिश्च मैथुने ग्रामसुकरः ।।
    अभ्यञ्जने भवेत्कुष्ठि भोजने स्यादधोगति ।
    बन्धने च भवेत् सर्पे वधे च नरकं व्रजेत् ।।

    अर्थात् ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

    सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । ग्रहणका समयमा नित्य कर्म गर्नु हुन्छ । घरमा तिथि, श्राद्ध परेमा ग्रहणमा गर्न हुने समितिले जनाएको छ । ग्रहण निषेध गरिएकाबाहेक कर्म गर्न हुने जनाइएको छ ।

    कात्तिक महिनाको कृष्ण पक्षको औँसीमा गत ८ गते सूर्यग्रहण लागेको थियो । आज शुक्ल पक्षको पूर्णिमामा चन्द्रग्रहण लाग्दैछ । औँसीमा सूर्य र पूर्णिमामा चन्द्रग्रहण लाग्छ ।

    चन्द्रग्रहण तक्षशिला एकेडेमीमा देखाइने

    खग्रास चन्द्रग्रहण सामाखुसीस्थित तक्षशिला एष्ट्रोनामी क्लबले देखाउने व्यवस्था मिलाएको छ । सामाखुसीस्थित एकेडेमी भवनको छतबाट निःशुल्क चन्द्रग्रहण देखाउने व्यवस्था गरिएको वरिष्ठ खगोलविद् जयन्त आचार्यले जानकारी दिए ।

    यो ग्रहण जापान, कोरिया, चीन, भारत, क्यानडा, अलास्का आदि देशबाट खग्रास चन्द्रग्रहण देखिने छ । नेपाल, भारत, पाकिस्तान, आदि देशबाट भने साँझमा चन्द्रमा उदाउँदा ग्रहण लागिरहेको देखिने छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो: प्रहरी महानिरीक्षक कार्की
    नीति, कार्यक्रम र बजेटमा बालबालिकालाई प्राथमिकता दिइने
    • सुरक्षाकर्मीको भूमिका प्रशंसनीय: मुख्यमन्त्री पाण्डे
    • मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघ मित्र’अभियान
    • रेडपाण्डा संरक्षण गर्न चेतनामूलक कार्यक्रम
    • बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.