सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मेलम्चीको पूर्वाधार पुन निर्माण, राजधानीवासीलाई खानेपानी


  •    न्युजभित्तो/२८ असार २०७९, मंगलवार ११:३५ 
  • काठमाडौँ,२८ असार।  विसं २०७८ असार १ गतेको बाढीले सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिकामा रहेको मेलम्ची खानेपानी आयोजनाको पूर्वाधारमा ठूलो क्षति गर्यो । जेठ अन्तिमसम्म हेलम्बुबाट सुरुङमार्ग हुँदै राजधानीमा खानेपानी आएको थियो ।

    वर्षा लागेकाले सम्भावित बाढीले गर्नसक्ने क्षतिलाई ध्यान दिँदै त्यसै दिन सुरुङबाट पानी ल्याउन बन्द गरिएको थियो । आयोजनास्थलको पूर्वाधारमा क्षति गरे पनि सुरुङ त्यसै दिन रोकिएकाले खानेपानी प्रणाली ध्वस्त हुनबाट बचेको थियो ।

    असार २९ गते सरकार परिवर्तन भयो । नयाँ सरकारले मेलम्ची खानेपानी आयोजनालाई प्रमुख प्राथमिकतामा राखेर काम गर्यो । खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको आयोजनास्थलमा क्षति भएका पूर्वाधार निर्माण गरेर राजधानीवासीलाई पानी खुवाउन अर्जुनदृष्टिका साथ काम गरे ।

    यसक्रममा पटक–पटक मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल हेलम्बु पुगेर उनले भत्केको प्रवेशमार्गको निर्माण, मुहानस्थलमा पुगेको क्षतिको मर्मतसम्भार पुनःनिर्माणलाई मन्त्रालयको प्राथमिकतामा राखे । २०७८ चैत मसान्तसम्म मेलम्चीको पानी राजधानीमा ल्याउने घोषणा गरेका मन्त्री चौधरीले समयमै काम सक्न आवश्यक नीति–निर्माण गरेर कार्यान्वयनमा सहयोग गरे ।

    फलस्वरुप चैत अन्तिम साता मेलम्चीबाट पथान्तरण गरिएको पानी वैशाख पहिलो साता राजधानीमा वितरण गरिएको थियो । वर्षा लागेसँगै हाललाई बन्द गरिएको मेलम्चीको पानी असोज अन्तिम साता वा कात्तिक पहिलो हप्तामा फेरि राजधानीमा ल्याउने तयारी पनि मन्त्रालयको छ ।

    मेलम्चीको पानी बन्द भएपछि हाल वाग्मतीको पानी प्रशोधन गरी मेलम्ची खानेपानी आयोजनाको नयाँ प्रणालीबाट उपत्यकावासीलाई वितरण गरिएको छ । मेलम्चीको प्रणालीबाट काठमाडौँ उपत्यकामा हाल वाग्मतीको पानी थप्दा राजधानीवासीलाई राहत पुगेको छ ।

    सिस्नेरी खोलाको पानी ल्याउने गृहकार्य

    सरकारको एकवर्षे कार्यकालमा काठमाडौँ उपत्यकामा खानेपानीको समस्या समाधानका लागि वैकल्पिकरूपमा मकवानपुरस्थित सिस्नेरी खोलाको पानी आपूर्ति गर्ने आयोजनाको पूर्व सम्भाव्यता अध्ययन सकिएको छ ।

    काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले सम्भाव्यता अध्ययन गरी दैनिक १५ करोड लिटर पानी लिफ्टिङ गरी राजधानीमा ल्याउन सकिने प्रारम्भिक प्रतिवेदन दिएपछि असार पहिलो साता खानेपानीमन्त्री चौधरीले सो स्थलको स्थलगत अध्ययन गरे । स्थलगत अध्ययनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री चौधरीले पाइप लाइन बिच्छ्याएपछि दैनिक छ करोड लिटर पानी राजधानी लैजान सकिने बताएका थिए ।

    मेलम्चीको विकल्पका रूपमा यो आयोजनालाई अघि बढाउन लागिएको उहाँले जानकारी दिए । यो आयोजनाको खर्च मेलम्चीको भन्दा कम लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । राजधानीमा याङ्री र लार्केको पानी आउनुअघि नै सिस्नेरीबाट पानी ल्याउने गरी विस्तृत परियोजना प्रस्ताव तयारी एवं वातावरणीय प्रभाव मूल्याङ्कनको काम अघि बढाउन लागिएको छ ।

    यो आयोजना सम्पन्न गर्न रु २६ अर्ब लाग्ने सम्भाव्यता अध्ययनले देखाएको छ । विस्तृत परियोजना प्रस्ताव तयारी र वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकी आर्थिक वर्ष २०८०/८१ देखि नै काम सुरु गर्ने लक्ष्य मन्त्रालयले लिएको पनि मन्त्री चौधरीले बताए ।

    विसं २०७२ को संविधानले मौलिक हकमै खानेपानीलाई राखेपछि यसको पूर्तिका लागि पहिलो प्राथमिकता दिएर काम अघि बढाउन लागिएको हो । मेलम्चीको पानी बन्द भएका बेला पनि आपूर्ति नरोक्न वैकल्पिकरूपमा अन्य मुहान र स्रोतको पनि बोर्डले अध्ययन गरिरहेको छ । काठमाडौँ उपत्यकाका १८ वटै नगरपालिकाका मुहान संरक्षण गरी पानी सङ्कलन गर्न लागिएको बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले जानकारी दिए ।

    पानीका स्रोत र मुहानको संरक्षणको कार्यक्रमलाई पनि मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिएको छ । बोर्डले पानी सुरक्षाका नक्सा नै बनाएर काम गरेको जनाइएको छ ।

    सिस्नेरीको पानी राजधानी ल्याउन मकवानपुरका इन्द्रसरोवर र भीमफेदी गाउँपालिकासँग समेत समन्वय भएको मन्त्रालयले जनाएको छ । दुवै पालिकाले राजधानीमा पानी लैजान सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । मकवानपुरको पानी राजधानी ल्याउँदा प्रभावितस्थलमा कम बस्ती रहेकाले ठूलो प्रभाव नपर्ने प्रारम्भिक अनुमान गरिएको छ ।

    दुवै खोलाको पानी बाँध निर्माण गरिने स्थानभन्दा २०० मिटर तल वाग्मतीमै मिसिने भएकाले पनि कसैलाई प्रभाव पर्दैन । वाग्मती बेसिनकै पानी भएकाले केही तल रहेको मध्य वाग्मती जलविद्युत् आयोजनामा पनि प्रभाव नपर्ने जनाइएको छ । काठमाडौँ उपत्यकामा आएको पानी प्रयोगपछि प्रशोधन गरेर फेरि वाग्मतीबाटै बाहिरिने भएकाले कुनै प्रभाव नपर्ने बोर्डका कार्यकारी निर्देशक राणाले बताए ।

    वर्षाका समयमा सुरुङभित्र बाढी छिर्ने त्रासले मेलम्ची आयोजनाको पानी मुहानस्थल सिन्धुपाल्चोकको हेलम्बुमै बन्द गर्नुपरेपछि खानेपानी मन्त्रालयले काठमाडौँ उपत्यकामा वैकल्पिक स्रोतको खोजी गरिरहेको थियो । स्रोत खोजी गर्ने क्रममा बोर्डले मकवानपुरका कुलेखानी खोला र सिस्नेरी खोलाको अध्ययन गरेको हो ।

    यो आयोजनास्थल फर्पिङस्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको पम्पिङ स्टेशनबाट १४ किलोमिटर दूरीमा पर्ने भएकाले पनि पानी ल्याउन सहज रहेको बोर्डका उहाँले जानकारी दिनुभयो । कुलेखानी खोलाको शाखा कोगतेको पानी पनि यसमा मिसिन्छ ।

    यो आयोजनाअन्तर्गत सिस्नेरीमा बाँध निर्माण गरी कोगते र कुलखानी खोलाको पानी सङ्कलन गरिने छ । लिमिटेडको सैँबु भैँसेपाटीस्थित पानीपोखरीमा बाँधबाट पानी लगी काठमाडौँ उपत्यकामा वितरण गर्ने लक्ष्य राखिएको छ ।

    प्रस्तावित बाँधको लम्बाइ ३४० मिटर र उचाइ ६० मिटर रहने छ । बाँध निर्माणस्थल समुद्री सतहबाट एक हजार १२० मिटर उचाइमा रहने छ । सिस्नेरीमा जम्मा गरिने पानीलाई करिब दुई किमी उत्तरतर्फ रहेको दरवनडाँडा भनिने एक हजार १४० मिटर उचाइको स्थानमा ल्याई पानीपोखरी बनाएर प्रशोधन गरी काठमाडौँ उपत्यकामा पठाउने लक्ष्य राखिएको छ ।

    पानीपोखरीबाट हाल निर्माणधीन द्रुतमार्गमा करिब १९ किमी पाइप लाइन बिच्छ्याइएर ‘ग्राभिटी सिस्टम’ बाट सैँबु पानीपोखरीमा ल्याउने प्रस्ताव गरिएको बोर्डका इञ्जीनियर नवीन तिवारीले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.