सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चुनावका लागि गाउँ जान गाडी पाउनै मुस्किल


  •    न्युजभित्तो/२८ बैशाख २०७९, बुधबार १४:३६ 
  • काठमाडौं,२८ बैशाख । बुधबार विहान घर जान कलंकीमा तीन घण्टा कुर्दा पनि तनहुँ बन्दीपुर गाउँपालिकाकी सुशीलाले गाडी पाइनन् । उनको तीन घण्टासम्म सडक छेउमा उभिएर गाडीलाई हात दिँदै रोक्नुस् भन्दै बिते ।

    उपत्यका बाहिर जान कलंकीबाट गुड्ने हरेक गाडी यात्रुले भरिभराउ छन् । गाडीमा पार्टीका झण्डा राखिएका छन् ।

    टाढा जाने बस त भरिभराउ छँदैछन्, नजिकैको धादिङ, गोरखासम्म जाने सवारीमा समेत यात्रु अटेसमटेस छन् । कुरेर बसेकाहरुलाई गाडी पाउनै धौ धौ छ ।

    ‘अरुबेला आउनुस् आउनुस् भन्दै हात तानेर लैजान्थे आज त रोक भन्दा पनि रोक्दैनन्,’ सुशीला भन्छिन्, ‘जित्ने नेता, भोट दिने र दुःख पाउने जनता ।’

    ‘गाडीका लागि पर्खेको तीन घण्टा भन्दा बढी भयो । उभिदा उभिदा खुट्टा दुखिसक्यो उनी भन्छिन्,‘एक–आधा घण्टा पर्खिन्छु नपाए कोठा फर्किन्छु ।’

    उनका नजर सडकबाट हटिरहेका थिएनन् । सुशीलाले निजी सवारी, कार तथा ट्रकलाईसमेत रोक्ने प्रयास गरिन् । हात देखाइरहिन् । तर कसैले पनि रोकेनन् । कारण केही गाडी भरिभराउ छन्, भने केही रिजर्भ गरिएका छन् ।

    ‘नजाउँ भने नजिकका मान्छे उठेका छन् जाउ भन्दा गाडी नै पाइदैन् । जहिल्यै दुःख पाउने भनेको त जनता नै रहेछ’ उनी गुनासो सुनाउँछिन् ।

    बन्दीपुर गएर यसैलाई भोट हाल्छु त सोचिसकेकी छैनन् सुशीलाले । तर राम्रो र काम गर्ने उम्मेदवारलाई भोट दिन मन छ उनलाई ।

    सप्तरी बोदेबर्साइन नगरपालिकाका योगेन्द्रप्रसाद यादव भोट हाल्न जाने भन्दै बिहान १० बजे कोटेश्वर पुगे ।

    उनी कोटेश्वर पुगेको एक घण्टा बितिसक्दा पनि उनको घर जाने गाडी आएको छैन । गाउँबाट ठेकेदारले गाडी बुक गरेर लैजान्छौं तपाईको खर्च लाग्दैन भोट हाल्न घर जानुपर्छ भनेपछि उनी भोट हाल्नका लागि घर जान राजी भएका हुन् ।

    ‘आउन जान तपाईंको पैसा लाग्दैन भनेको छ, अब त्यति गरेर भोट हाल्न जानै पर्छ भनेपछि जानैप¥यो’ यादवले सुुनाए ।

    यादव कीर्तिपुरको चोभारमा कार्पेन्टरको काम गर्छन् । ‘भोट त राम्रो, इमान्दार काम गर्ने मान्छेलाई दिने हो’, उनी भन्छन्,‘नेता चुनावअघि जनताका लागि काम गर्छौं भन्छन् जितेपछि वास्ता गर्दैनन् ।’

    भोट हालेको दोस्रो दिन उनी काठमाडौ फर्किने सोचमा छन् । कारण घरमा कमाउने उनी एक्लै हुन् । उनले काम नगरे घरमा बालबालिकाले भोकै बस्नु पर्छ ।

    तनहुँकै व्यास नगरपालिकाकी सिन्धु पनि बस पर्खिदा पर्खिदै थाकिसकेकी छन् ।

    उनलाई भोट हाल्नै भनेर घर जान त मन थिएन । तर आफन्तले कर गरेपछि उनी जान लागेकी हुन् । ‘स्थानीय नेतासँग काम परिरहन्छ । स्थानीय नेता जनताको सबैभन्दा नजिकको सम्बन्ध भएका मान्छे हुन्छन् । काम गर्ने र इमान्दार मान्छेलाई भोट दिनु पर्छ’ उनी भन्छिन् ।

    सिन्धुले राम्रो र इमान्दार मान्छेलाई भोट दिने भनिरहँदा उनी भने आफन्त वा नजिकको मान्छे चुनावमा उठेका कारण भोट दिन जान लागेकी हुन् ।

    ‘यसैलाई नै भोट दिन्छु भनेर त भन्न सक्दिन । तर मेरो भोट इमान्दार र काम गर्ने व्यक्तिलाई जाने छ’ उनले सुनाइन् ।

    सप्तरी खडक नगरपालिकाका महेन्द्रप्रसाद साह भोट हाल्न घर जान भन्दै कोटेश्वर पुगेका छन् । उनीसहितका केही साथी पार्टी र उम्मेदवारले पठाएको गाडीमा सर्लाही जान लागेका हुन् ।

    ‘भोट दिने कि हाम्रालाई हो कि राम्रालाई’, महेन्द्र भन्छन्, ‘जसले गाडीमा लगेर फेरि काठमाडौं पु¥याइदिन्छ त्यसैलाई भोट दिन्छु ।’

    चुनाव नजिकिदै जादा भोट हाल्न गाउँ फर्किनेको लर्को छ । नयाँ बसपार्क, माछापोखरी, कलंकी तथा कोटेश्वरमा चुनावका लागि गाउँ फर्किनेको संख्या निकै धेरै छ ।

    जुन स्थानीय तहमा आफ्नो मतदाता नामावली छ त्यहीँबाट मात्रै भोट हाल्न पाइने भएकाले अरु बेला काठमाडौंमा बस्नेहरु भोट हाल्न गाउँ फर्किन लागेका हुन् ।

    चुनावका लागि उपत्यका छाड्ने उमेर पुगेका मतदाताले पार्टी हेरेर मत दिने बताए पनि युवा भने व्यक्ति हेरेर भोट दिने बताउँछन् ।

    पोखरा उपमहानगरपालिकाका विवेकजंग हिमाली आफू पार्टी हेरेर नभई व्यक्ति हेरेर मत दिने बताउँछन् ।

    ‘पार्टी हेरेर मत दिँदा भोलि हामीलाई नै समस्या पर्न सक्छ, उनी भन्छन्, ‘काम गर्ने इमान्दार र जनताको काम गर्ने उम्मेदवारलाई भोट दिने हो ।’

    भनेको बेला काम नगरिदिने र जनताको समस्या नबुझिदिने भए आफ्नै नातेदार भएपनि भोट नदिने उनको भनाइ छ ।

    कलेज विदा भएका कारण पनि मतदान गर्न घर जान पाएको हिमालीको भनाइ छ ।

    ‘कलेज पनि विदा छ चुनाव पनि छ यही मौकामा भोट पनि दिऔं न त भनेर जान लागेको हुँ’ हिमालीले सुनाए ।

    चुनावको उत्साह भएपनि अधिकांश मतदाताको अनुहारमा गाडी नपाउँदा खिन्नता छाएको छ । यसरी दुःख पाएर जानु भन्दा त नजानु बेस लागिरहेको छ ।

    हिमालीले गाडी कुरेको आधाघण्टा बढी भइसकेको छ । तर पनि गाडी पाएका छैनन् । उनी हरेक गाडी रोक्न हात दिइरहेका छन् । यताउती दौडिरहेका छन् । तर सिट पाइएको छैन । गाडीभित्र उभिनसमेत ठाउँ छैन ।

    गल्छी गाउँपालिका धादिङ–२ का रमेशमान श्रेष्ठ भोट हाल्न गाउँ जाने भन्दै बुधबार बिहान नौ बजे कलंकी पुगे ।

    तर एक घण्टा कुर्दा पनि गाडी पाएनन् । स्थानीय जनप्रतिनिधिले मतदाताका लागि भन्दै गाडी बुक गरेका थिए । तर उनी त्यसमा चढेनन् । कारण उम्मेदवारले पठाएको गाडीमा गए उनीहरुलाई नै भोट दिनुपर्ने दबाव हुन्छ । उनी त्यो दबावमा पर्न चाहदैनन् ।

    श्रेष्ठ भन्छन्,‘गाउँपालिकाले पठाएको गाडीमा गए उनीहरुलाई नै भोट दिनुपर्छ भन्ने हुन्छ । आफैं गएर मन परेको र काम गर्ने उम्मेदवारलाई भोट दिने हो ।’

    स्थानीय तहका प्रतिनिधि जनतासँग नजिक हुने भएका कारण समाज र जनताको हितमा काम गर्नेलाई जिताउनुपर्ने उनको भनाइ छ ।

    काम गर्ने मात्रै नभइ छिटो छरितो र इमान्दारिपूर्वक काम गर्ने उम्मेदवारलाई भोट दिने श्रेष्ठले बताए ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाले चुनाव नजिकिंदै जाँदा मतदानका लागि गाउँ फर्किनेहरुको संख्या बढ्दै गएको बताएको छ ।

    महाशाखाका अनुसार तीन दिनमा एक लाख ५६ हजार बढी सर्वसाधारणले उपत्यका छाडिसकेका छन् ।

    बुधबार र बिहीबार यो संख्या अझै बढ्न सक्ने महाशाखाको अनुमान छ ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार २५ गते ५५ हजार ७ सय ४०, २६ गते ५० हजार ९ सय ३० र २७ गते बिहान ७ बजेसम्म ५९ हजार ८१ जना सर्वसाधारणले उपत्यका छाडिसकेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.