सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

२ महिनामा बाँकी सबै सेवाग्राहीको लाइसेन्स परीक्षा लिइ सकिने


  •    न्युजभित्तो/७ चैत्र २०७८, सोमबार १६:३० 
  • काठमाडौँ,७ चैत्र । अबको दुई महिनामा चालक अनुमतिपत्र परीक्षाका लागि फारम भरेका सबैको परीक्षा लिइसकिने योजना बनाइएको छ । झन्डै पाँच लाख ७२ हजारले फारम भरेकामा उनीहरुको परीक्षा सञ्चालन हुनेछ ।

    यातायात व्यवस्था कार्यालयले अनुमतिपत्रको परीक्षा सञ्चालन गर्न बाँकी रहेकामा पहिले यातायात व्यवस्था विभागले नयाँ अनुमतिपत्रका लागि अनलाइन फारम स्थगित गरेको छ । फारम भरेका सेवाग्राहीकै लामो समयसम्म पालो नआएकाले नयाँ फारम तत्कालका लागि नखुलाइएको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए ।

    उनका अनुसार आगामी जेठ १६ गतेसम्म सबै अनुमतिपत्रको छपाइ सकिनेछ । सबै कार्यालयसँगको सल्लाहमा अहिलेका लागि फारम भर्न रोकिएको उनले बताए । उनले भने, “कार्यालयको क्षमताभन्दा सेवाग्राहीको चाप बढी भएकाले व्यवस्थापन गर्न गाह्रो भएको छ ।”

    सेवा प्रदायक संस्थाले सेवा अवरुद्ध गर्दा नागरिकलाई असुविधा पुग्ने देखिएको छ । अहिले फारम भरेका सेवाग्राहीको पनि पालो आउन झन्डै एक–डेढ वर्षसम्म लाग्ने देखिएकाले फारम भरे पनि नागरिकलाई सजिलो नहुने प्रवक्ता भुसालले बताए । अहिले एकपटक सबै बाँकी सकाएमा त्यसपछि फारम भरेको छोटो समयमा नै पालो आउनसक्छ । उनले भने, “सेवाग्राहीको फारम भरेको एक सातामा नै पालो आओस् भन्ने हाम्रो चाहना हो ।”

    देशभरका सबै यातायात कार्यालयले आफ्नो जनशक्ति र क्षमता बढाएर पनि चाँडो सबै बाँकी परीक्षा सञ्चालन गर्नुपर्नेमा विभागको जोड छ । यो दुई महिनामा सबै कार्यालयले क्षमता बढाएर सबै (पाँच लाख ७२ हजार)को परीक्षा लिइसक्नुपर्नेमा उनले जोड दिए । देशभरका २३ यातायात कार्यालयमध्ये सबैभन्दा बढी चाप काठमाडौँ उपत्यकाका कार्यालयमा छ ।

    एकान्तकुनास्थित कार्यालयमा झन्डै एकदेखि डेढ वर्षसम्ममा पालो आउने गरेको छ । यी कार्यालयले भएका जनशक्ति बढाएर चाँडो गराउन लाग्नुपर्ने उनको जोड छ । अहिले यी सबै कार्यालयले गरी दैनिक पाँच हजारको परीक्षा सञ्चालन गर्दै आएका छन् । यिनले क्षमता बढाएर सात आठ हजार जनासम्मको परीक्षा लिएमा अबको दुई महिनामा सकिने उनको भनाइ छ ।

    विभागले गत वर्ष कोभिड सङ्क्रमणको जोखिम कम गर्न अनलाइनबाट फारम सुरु गरेको थियो । विभागले फारम भराउने र अनुमतिपत्र छाप्ने काम गर्दै आएको छ । यातायात कार्यालयले परीक्षा सञ्चालन गर्ने, अनुमतिपत्र नवीकरण र वितरण गर्दै आएका छन् । अहिले झन्डै साढे दुई लाख अनुमतिपत्र छाप्न बाँकी रहेको विभागले जनाएको छ ।

    चालु आवमा कार्ड अभावका कारण नियमित रुपमा अनुमतिपत्र छपाइ हुन नसकेकाले छाप्न बाँकी अनुमतिपत्र झन्डै साढे चार लाख थियो । मङ्सिरमा १४ लाख नयाँ कार्ड आएपछि अझै साढे दुई लाख अनुमतिपत्र छाप्न बाँकी छ । यो दुई महिनामा पहिलेको बाँकी सबै अनुमतिपत्र छापिसकिने उनले बताए । विभागले अहिले तीन सिफ्टमा अनुमतिपत्र छापिरहेको छ । विभागले दैनिक छ हजार अनुमतिपत्र छापिरहेको छ ।

    नेपालमा विसं २०७२ पुसमा मा ‘स्मार्ट’ चालक अनुमतिपत्र एकान्तकुनास्थित कार्यालयबाट सुरु भएको थियो । एसियाली विकास बैंकको सूचना र सञ्चार प्रविधि (आइसिटी) परियोजनअन्तर्गत भएको सम्झौताका आधारमा चार छपाइ उपकरण (प्रिन्टर) र तीन लाख ५० हजार कार्ड खरिद गरिएको थियो । त्यसपछिका वर्षमा उपत्यकामा रहेका अरू यातायात कार्यालय ठूलो भर्याङ, जगाती र चाबहिल कार्यालयमा उक्त प्रणाली विस्तार गरिएको थियो ।

    उपत्यकामा मात्रै ‘स्मार्ट’ चालक अनुमतिपत्र सुरु भइरहँदा नै उपकरण र कार्ड व्यवस्थापन हुन नसक्दा सेवाग्राहीले समयमै अनुमतिपत्र पाएका थिएनन् । आव २०७३/७४ मा ठेक्कामार्फत नै सात लाख ५० हजार कार्ड र चार थान छपाइ उपकरण खरिद गरिएको थियो । प्रतिघण्टा ६० कार्ड मात्र छाप्ने क्षमताका उपकरणका कारण बिस्तारै छाप्नुपर्ने अवस्था सिर्जना भएको थियो ।

    उपकरणकै कारण ढिलाइ भएकाले विभागले विसं २०७६ मा धेरै सङ्ख्यामा एकै पटक कार्ड छाप्न सक्ने उपकरण खरिद गरेको थियो । मदरास सेक्युरिटि पिन्टिङबाट खरिद गरिएको उपकरणको क्षमता प्रतिघण्टा ४५० कार्ड छाप्नेछ ।

    देशभरका सबै कार्यालयबाट ‘स्मार्ट’ कार्ड लागू भएपछि झन्डै आठ लाख कार्ड छाप्न बाँकी भएकामा २०७६ चैतदेखि कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि सरकारले लागू गरेको बन्दाबन्दीले यातायातका कर्मचारीले छपाइ सकेका थिए । त्यतिबेलासम्म विभागसँग छाप्न बाँकी (खाली) कार्ड झन्डै दुई लाख मात्र रहेकामा विसं २०७६ फागुनमा थप १४ लाख कार्ड खरिदका लागि प्रक्रिया अघि बढाइएको थियो । कार्ड खरिद भएपछि बाँकीमध्ये आधा छापिसकिएको विभागले जनाएको छ ।

    कोभिडका कारण केही समय प्रक्रिया अघि बढ्न नसकेकामा गत वर्ष साउनमा पुनः प्रक्रिया अघि बढाएर फ्रान्सेली कम्पनीसँग कार्ड खरिदको सम्झौता भएको थियो । मदरास कम्पनीले कार्ड र ‘मास प्रिन्टर’ दुवै एउटै कम्पनीले खरिद गर्दा समस्या नआए पनि अहिले कम्पनीले पठाएको नमूना यहाँको सफ्टवेयरमा मिलाउन भने समस्या भएको छ । कार्ड आउन ढिलाइ हुँदा पनि छाप्न बाँकी अनुमतिपत्रको सङ्ख्या बढेको हो ।

    अनुमतिपत्र छाप्न समय लाग्ने मात्रै होइन लामो समय कुरेर पाएका कार्डमा समेत समयसमयमा समस्या आइरहेको सेवाग्राही बताउँछन् । लामो समय रोकिएर एकै पटक कार्ड छापिँदा यातायात कार्यालयमा सेवाग्राहीको भीड हुने गरेको छ । त्यसो त कोभिडका कारण अनलाइन भर्न नपाउनेको सङ्ख्या बढ्दै छ भने फारम भरेकाको समेत कहिले परीक्षा हुने भनी अन्योल छ ।

    संविधानअनुसार तीन तहका सरकारको अधिकार क्षेत्र तोकिँदा यातायात क्षेत्र तीनै तहको साझा अधिकार क्षेत्रमा परेको छ । एक स्थानीय तहभित्र चल्ने सवारीसाधनको व्यवस्थापनको जिम्मेवारी पालिका, दुई वा त्योभन्दा बढी पालिकामा चल्नेको प्रदेश र अन्तरप्रदेश चल्ने सवारीसाधनको व्यवस्थापनको जिम्मेवारी सङ्घीय सरकारको हुने उल्लेख छ ।

    फरक सरकारबीच समन्वय नहुँदा समय समयमा सेवाग्राहीले समस्या भोग्दै आएका छन् । अनुमतिपत्र छाप्ने एउटा निकाय र वितरण गर्नै अर्काे हुँदा सेवाग्राही अनुमतिपत्रसम्बन्धी समस्यामा यता र उता धाउँदा हैरान हुने गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.