सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हवाई पूर्वाधारको अर्को फड्को : सञ्चालनको तयारीमा गौतमबुद्ध विमानस्थल


  •    न्युजभित्तो/२८ फाल्गुन २०७८, शनिबार १०:३१ 
  • काठमाडौँ,२८ फाल्गुन ।  सात दशक बढी लामो हवाई उडान इतिहास बोकेको नेपालको नागरिक उड्डयन क्षेत्रले निकै फड्को मारिसकेको छ । विशेष गरी हवाई पूर्वाधारमा निकै प्रगति हासिल भएको छ । देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ७२ वर्षपछि अब दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनको तयारीमा छ ।

    राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडानको तयारीसँगै मुलुकभित्र अब दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा हुनेछन् । आगामी जेठ २ गते (बुद्ध पूर्णिमा) देखि व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारीका साथ यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) सम्पन्न यो विमानस्थलमा २०७९ वैशाख १ गते परीक्षण उडान हुँदैछ । जेठ २ गतेदेखि व्यावसायिक उडान सञ्चालन गरिने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

    प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले झण्डै ७२ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा गौतमबुद्ध विमानस्थल सञ्चालनको तयारी गरिएको बताए । गौतमबुद्ध विमानस्थलमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को वाइड बडी ए ३३० जहाजले परीक्षण उडान गर्ने निगमले जनाएको छ ।

    नेपालमा विसं २००६ मा त्रिभुवन विमानस्थल सञ्चालनमा आएपछि पहिलोपटक अर्को अन्तर्राष्ट्रिय विमानस्थल थपिएको हो । सन् १९४८ मा बीच बनाया नामक वायुयानलाई बेलायती नागिरक एच वेडलरलेले काठमाडौंको गौचरणमा सफलतापूर्वक अवतरण गरेको नै नेपालको सन्दर्भमा हवाई यातायातको सुरुआत भएको मानिन्छ । त्यसपछि सन् १९४९ मा पहिलोपटक काठमाडौँ गौचरणमा डकोटा–३ वायुयान अवतरण गरियो । विसं २००७ मा भारतको पटनाबाट इण्डियन नेशनल एयरवेजले पहिलो व्यावसायिक उडान गरेको थियो ।

    ठूलो अत्याधुनिक विमानस्थल

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुने महानिर्देशक अधिकारीले बताए । उनले देशमा ठूलो अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु हवाई पूर्वाधारको अर्को फड्को भएको र यो देशको आर्थिक विकासका लागि महत्वपूर्ण परियोजना भएको बताए ।

    कूल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्पको रुपमा पनि गौतमबुद्ध विमानस्थललाई हेरिएको छ । यो विमानस्थल अत्याधुनिक उपकरणयुक्त छ । मौसम खराबी भएको अवस्थामा काठमाडौँ विमानस्थलमा अवतरण गर्न नसकेका जहाज भैरहवा विमानस्थलमा सहजै अवतरण गर्नसक्ने गरी यान्त्रिक प्रणाली जडान गरिएको छ ।

    नमूना आयोजना

    गौतमबुद्ध विमानस्थल राष्ट्रिय गौरवका आयोजनामध्ये रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरुमा थालनी भएको विमानस्थलको कामबीचमा निर्माण व्यवसायी कम्पनीको लापर्बाहीले अवरोध भएको थियो । पछिल्लो पटक सन् २०२० को मार्च महिनाभित्र निर्माण सक्ने योजना रहे पनि कोभिड महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिकरुपमा सञ्चालनमा आउन लागेको हो ।

    विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी करिब रु २२ अर्ब खर्च हुने प्राधिकरणले जनाएको छ । पहिलो चरणमा करिब रु ११ अर्ब खर्च भएको छ ।

    अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै सञ्चालन गरिने महानिर्देशक अधिकारीले बताए । कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ ।

    गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा निर्माण भएको गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानपछि सबैभन्दा धेरै लाभ गौतमबुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटकलाई हुने व्यवसायीको बुझाइ छ । विमानस्थल सञ्चालन भएपछि विश्वका धेरै मुलुकबाट बौद्धमार्गी सिधै भैरहवा आउन सक्नेछन् । विमानस्थलबाट लुम्बिनी क्षेत्र २२ किलोमिटर मात्र टाढा छ ।

    लुम्बिनी विकास कोषले लुम्बिनी आउने विदेशी पर्यटक अन्तर्राष्ट्रिय उडान हुनासाथ दुई गुणा वृद्धि हुने प्रक्षेपण गरेको छ । बौद्धमार्गीको बाहुल्यता भएका मुलुक चीन, जापान, कोरिया, भियतनाम, श्रीलङ्कालगायत मुलुकबाट सीधा भैरहवा उडान हुने प्राधिकरणले अपेक्षा गरेको छ ।

    नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईले बुद्धिष्ट पर्यटक आकर्षण गर्न गौतमबुद्ध विमानस्थलको महत्वपूर्ण भूमिका हुने बताए । कोभिड महामारीबाट सहज बन्दै गइरहेको मुलुकको पर्यटन क्षेत्रका लागि नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुले विदेशी पर्यटक बढ्ने र नेपालको अर्थतन्त्रलाई चलायमान बनाउने उनको विश्वास छ ।

    प्राधिकरणले नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडान योग्य भएको सूचना प्रकाशित गरेको छ । यो विमानस्थलमा अबको ४१ दिनपछि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले विमानस्थलको सबै विवरण रहेको पुस्तकसमेत प्रकाशन गरेको छ ।

    आगामी अप्रिल २१ देखि विमानस्थलले अन्तर्राष्ट्रिय उडानको मान्यता पाउने बताइएको छ । प्राधिकरणले विमानस्थल उडानका लागि योग्य भयो भनी उडान गर्न चाहने एयरलाइन्स कम्पनीहरुलाई उडानका लागि ‘एप्रोच’ गर्न विमानस्थलको सबै विवरणसहितको प्रकासन जारी गरेको छ ।

    तीन अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान गर्ने इच्छा

    गौतमबुद्ध विमानस्थलमा उडानका लागि अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्स कम्पनीले उडानका लागि चासो देखाएका छन् । प्राधिकरणका महानिर्देशक अधिकारीका अनुसार अहिले तीन एयरलाइन्सले उडानका लागि इच्छा देखाएका छन् । गौतमबुद्धबाट अन्तर्राष्ट्रिय उडानका लागि नेपाल एयरलाइन्स, जजिरा एयर र थाई स्माइलले उडान गर्ने आशय देखाएका हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.