सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमसीसीको कार्यान्वयन कहिले र कसरी हुन्छ ?


  •    न्युजभित्तो/१६ फाल्गुन २०७८, सोमबार १६:०१ 
  • काठमाडौं, १६ फागुन । प्रतिनिधि सभाले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन गरेसँगै एमसीसी कार्यन्वयनको बाटो खुलेको छ । अब एमसीसी कार्यन्वयनको जिम्मेवारी मिलेनियम च्यालेन्ज एकाउण्ट (एमसीए) नेपाल विकास समितिको काँधमा छ ।

    एमसीए–नेपालका अनुसार एमसीसी कार्यन्वयनमा आउन बढीमा १५ महिना लाग्नेछ । त्यसअघि केही कामहरु गर्नुपर्ने हुन्छ । एमसीए नेपालका सूचना अधिकृत राजीव दाहालका अनुसार अब संसदबाट एमसीसी अनुमोदन भएको सूचना औपचारिक रुपमा पत्र मार्फत अर्थ मन्त्रालयलाई जानकारी गराइन्छ ।

    अर्थ मन्त्रालयले ‘नोट अफ रेटिफिकेसन’ पत्र एमसीसीलाई पठाउँछ । यो चिठीमा संसदबाट अनुमोदन भएको ब्याख्यात्मक टिप्पणी पनि समावेश गरिन्छ । त्यसपछि एमसीसीले पत्र प्राप्त गरेको जानकारी नेपाललाई दिन्छ । एमसीसीबाट जानकारी आएपछि एमसीसी अनुमोदनको प्रक्रियाले पूर्णता पाउँछ ।

    ‘यो परियोजना पाँच वर्ष भित्र सम्पन्न गर्नुपर्छ । यो पाँच वर्ष ‘इन्ट्री इनटु फोर्स’ (परियोजना कार्यन्वयनमा जाने मिति) भन्ने मितिबाट सुरु हुन्छ,’ एमसीए–नेपालका सूचना अधिकृत दाहालले भने । एमसीसी सम्झौतामा ‘इन्ट्री इनटु फोर्स’ अगावै के के गर्नुपर्छ स्पष्ट लेखिएको छ । ती काम सम्पन्न नहुन्जेलसम्म एमसीसी कार्यन्वयनमा जाँदैन ।

    ‘यो परियोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्ने, नेपाल र भारतकबीच निर्माण गरिने विद्युत प्रसारण लाइनको लागि भारतसँग सहमति लिने, सम्झौता संसदले अनुमोदन गर्ने कार्य एमसीसी कार्यन्वयनमा जानु अगावै सम्पन्न गर्नुपर्ने हुन्छ,’ दाहालले भने । यो परियोजनाको एउटा महत्वपूर्ण भाग भनेको नेपाल र भारतलाई जोड्ने विद्युत प्रसारण लाइनको निर्माण पनि हो । यो प्रसारण लाइन नेपालको बुटवलदेखि भारत भित्र निर्माण गरिने छ ।

    ‘इन्ट्री इनटु फोर्स’ अगावै गर्नुपर्ने अर्को महत्वपूर्ण कार्य भनेको कार्यस्थलमा प्रवेशको अनुमति हो । यसको अर्थ के हो भने जहाँ विद्युत प्रसारण लाइन र सब स्टेसन निर्माण हुन्छ त्यो ठाउँको जग्गा अधिग्रहण गर्ने । एमसीसी अन्तर्गत तीन ठाउँमा सवस्टेसन निर्माण गरिने छ । तीमध्ये एक ठाउँ– नुवाकोटको रातमाटेमा जग्गा अघिग्रहण गरिसकिएको छ । रातमाटेमा सवस्टेसन बनाउन ३९८ रोपनी जग्गा लिइएको उनले जनाए ।

    ‘अब हामीले ३१५ किलोमिटरको प्रसारण लाइन अन्तर्गत पर्ने जग्गा अधिग्रहण गर्नुपर्नेछ । कुनै वन क्षेत्र भएर जान्छ, कुनै व्यक्तिको नीजि सम्पत्ति भएर जान्छ । कुनै सरकारी–सार्वजनिक सम्पत्ति भएर जान्छ । नीजि सम्पत्ति भएर जानेमा व्यक्तिहरुलाई मुआब्जा दिएर जग्गा लिनुपर्ने हुन्छ,’ एमसीए–नेपालका सूचना अधिकृत दाहालले भने ।

    प्रसारण लाइन जहाँ वन क्षेत्र भएर जान्छ त्यहाँ वन मन्त्रालय वा स्थानीय तहबाट स्वीकृती लिनुपर्छ । केही स्थानमा रुख काट्न पनि स्वीकृति लिनुपर्ने हुन्छ । यो काम १० वटा जिल्लामा गर्न बाँकी छ । ती जिल्ला हुन्–काठमाडौं, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, मकवानपुर, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, रुपन्देही र तनहुँ । ‘प्रसारण लाइनको टावर जहाँ जहाँ राखिन्छ त्यो पुरै जमिन नै हामीले किन्नु पर्छ । वनको फडानी पनि गर्नुपर्छ । जहाँ तार मात्र लगिन्छ त्यहाँ दायाँ बायाँ २३÷२३ मीटरमा जनताले ठूलो पक्की घर बनाउन पाउने छैनन् । त्यस्तो ठाउँमा जग्गा लिदैनौ हामी, तर जसको जग्गा पर्छ उसले खेतीपाती गर्न भने पाउँछ । संरचना बनाउन पाउदैनन् । यसको लागि पनि मुआब्दा दिइन्छ,’ उनले स्पष्ट पारे ।

    यो सबै काम गर्न (३१५ किलोमिटर प्रसारण लाइन निर्माण) एमसीए–नेपालले एक वर्ष देखि १५ महिनाको टार्गेट राखेको छ । यसको अर्थ अबको १५ महिनामा ‘इन्ट्री इनटु फोर्स’ मिति निर्धारण हुन्छ । त्यसपछिको पाँच वर्षमा परियोजनाको सम्पूर्ण काम सम्पन्न गरिनेछ । ‘एमसीसी कार्यान्वयनमा जानुअघि अन्य काम पनि हामी गर्छौं । जस्तो समानान्तर रुपमा हामी टेण्डर आव्हान गर्छौं । अर्बौंको टेण्डर आव्हान गर्दा समय लाग्छ, त्यसैले अहिलेदेखि गर्छौं । यो बिचमा टेण्डरमा निवेदन दिनेको मूल्यांकन र छनोट कार्य पनि हुन्छ,’ एमसीए–नेपालका सूचना अधिकृत दाहालले भने ।

    अब एमसीए–नेपालले युद्ध स्तरमा काम गर्ने उनले जनाए । यसअघि कोभिडका कारण काम जति भइसकेको हुनुपथ्र्यो, त्यो हुन नसकेको उनले बताए ।
    स्रोतको सुनिश्चतता नभई टेण्डर आव्हान गर्न मिलेन । अब संसदबाट अनुमोदन भएको छ, टेण्डरको पनि काम अघि बढ्छ । अब सम्पूर्ण जिम्मेवारी हाम्रो काँधमा आएको छ, युद्धस्तरमा काम हुन्छ,’ उनले भने ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
    तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
    साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट
    • नेप्से परिसूचक १८ अङ्कले घट्यो
    • परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट
    • प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै
    • चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.