सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सेवाग्राहीमैत्री प्रशासनः रातिसम्मै काम हुन्छ जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा


  •    न्युजभित्तो/२९ पुष २०७८, बिहीबार १५:१७ 
  • भोजराज कार्की

    सोलुखुम्बु, २९ पुस । पुस महिनाको दिन, साँझको समय, तीन डिग्री सेल्सियसमा तापक्रम, हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाम सल्लेरीका अधिकांश होटलपसलको ढोका ५.३० बजे नै बन्द हुनका साथै सडकमा चहलपहल ह्वात्तै घट्छ ।

    अझ सरकारी कार्यालय र कर्मचारीको कुरा गर्ने हो भने बेलुकीको खाना खाएर सुत्ने तरखरमा हुन्छन् । तर जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा भने राति आठ बजेसम्म सेवा प्रवाह हुन्छ । पुस महिनामा सरकारी कार्यालय समय बिहान १० देखि ४ बजे सम्म हो । अधिकांश सरकारी कार्यालयका कर्मचारीले चार बज्ने वित्तिकै कार्यालय समय सकिएको भन्दै सेवाग्राहीको बाँकी काम भोलि बिहान १० बजे हुने जवाफ दिँदै ढोका बन्द गर्छन् ।

    सरकारी कर्मचारीको यस्ता व्यवहार देखेभोगेका ग्रामीण क्षेत्रका नागरिक जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु पुग्दा फरक अनुभूति हुने गरेको सुनाउँछन् । तल्लो तहका कार्मचारीदेखि प्रमुख जिल्ला अधिकारी सम्मको व्यवहार र सेवा प्रवाह गर्ने शैलीले सेवाग्राही प्रफुल्लित मुद्रामा कार्यालयबाट निस्कन्छन् । आइतबार साँझ ६ बजेको समयमा थुलुङ दूधकोशी गाउँपालिका–६ का सूर्य बानियाँ पेन्सनपट्टाको लागि सिफारिस लिँदै गरेको अवस्थामा प्रशासन कार्यालयमा भेटिनुभयो । प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीलगायत अन्य कर्मचारीसमेत त्यो समयमा पनि कार्यालयकै काममा व्यस्त हुनुहुन्थ्यो ।

    सेवाग्राही बानियाँले धन्यवाद दिँदै भन्नुभयो, “हजुर जस्तो सिडिओ साब अनि अन्य सबै कार्यालयका कर्मचारी यस्तै भएको भए त गाउँघरका हामी जस्ता मानिसले कत्ति सहजै सेवा पाइन्थ्यो हजुर ।” सेवा गर्ने इच्छाशक्ति भए समयले नछेक्ने बानियाँको बुझाइ छ । “यहाँ राष्ट्रसेवक कर्मचारी १० नबजेर कार्यालय नजाने र ४ नबज्दै सेवाग्राहीको बेवास्ता गर्दै निस्कने प्रथाले सानो कामले गर्दा पुनः अर्को दिन त्यही कार्यालयमा जानुपर्छ”, बानियाँले भन्नुभयो, “सोलुखुम्बु प्रशासनजस्तै अन्य ठाउँका कार्यालयले पनि सिक्नुपर्छ र मन्त्रालय अनि नेपाल सरकारले पनि यस्ता कर्मचारीलाई छट्टै मूल्याङ्कन गरी पुरस्कार दिने व्यवस्था गर्नुपर्छ ।”

    नागरिकको सेवामा कार्यालयको समय मात्र नभनिकन काम गर्ने कर्मचारीको उचित मूल्याङ्कन हुनुपर्ने उहाँको माग छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु पुग्ने जोकोहीले पनि अहिले कर्मचारी र कार्यालयको सेवा प्रवाहप्रति खुसी व्यक्त गर्छन् । सीमित जनशक्तिको बीचमा पनि सेवा प्रवाह सहज र सरल बनाइँदा कर्मचारी धन्यवादका पात्र बनेका छन् ।

    दैनिक दुई सय जना सेवाग्राही विभिन्न सेवा लिन जिल्ला प्रशासन कार्यालयमा पुग्ने गरेका छन् । हाल कार्यालयमा प्रमुख जिल्ला अधिकारीसहित दुई खरिदार, एक लेखापाल, दुई कम्प्युटर अपरेटर र एक सहायक प्रमुख जिल्ला अधिकारी कार्यरत छन् । चार नायब सुब्बा, एक लेखापाल र दुई खरिदारको पद खाली रहेको प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले बताउनुभयो । कर्मचारी अभावले गर्दा जिल्ला कारागारका प्रमुख प्रशान्तकुमार महतोलाई समेत सहयोग माग्ने गरेको उहाँको भनाइ छ । प्रमुख महतोले पनि प्रमुख जिल्ला अधिकारीको अनुरोधमा नागरिकको सेवा गर्न पाएकोप्रति खुसी व्यक्त गर्नुभयो ।

    कार्यकक्षमै चिया खाजा खाँदै सेवा दिँदै

    विभिन्न कार्यालयमा सूचना नै टाँसेर चिया खाजा खाने समयमा सेवाप्रवाह बन्द गरिन्छ । तर सोलुखुम्बु प्रशासनका कर्मचारीले भने चिया, खाजासमेत कार्यकक्ष मै खान्छन् । चिया खाजा खाँदै सेवा दिने यहाँको अर्को प्रशंसायोग्य कार्य रहेको कर्मा शेर्पाले बताउनुभयो ।

    बाहिर होटलमा चिया खाजा खान जाने समयमा सेवाग्राहीले कुर्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि कार्यकक्षमा नै चियाखाजाको व्यवस्था गरेको प्रमुख जिल्ला अधिकारी शाहीले बताउनुभयो । कार्यकक्षमा नै चिया र स्थानीय उत्पादनबाट बनेको खाजा खाँदै सेवा प्रर्वाह गर्ने यहाँका कर्मचारीलाई न त समयको मतलब छ, न त कमिसनको ?

    कार्यालयमा आएका सेवाग्राहीलाई समयमा नै सेवा दिने ध्यानले थुलुङ दूधुकोशी गाउँपालिकाका–७ का जगतबहादुर केसीलाई पनि प्रभावित बनायो । उहाँले भन्नुभयो, “सोलुखुम्बु प्रशासनको कर्मचारीलाई सम्मान छ, यसैगरी अरुले पनि सिकुन र नेपाल सरकारले पनि केही नयाँ योजना बनाउन सकोस् ।” जिल्ला प्रशासन कार्यालयले स्थानीय उत्पादनलाई जोड दिँदै यहाँका नागरिकलाई त्यसप्रति आकर्षित गराउने अर्को उद्देश्य रहेको प्रमुख जिल्ला अधिकारी शाहीको भनाइ छ ।

    गृह मन्त्रालयबाट पहिलोपटक जिल्लामा प्रमुखको जिम्मेवारी समाहल्नु आउनुभएका शाहीले नागरिकमैत्री सेवा दिने गरेको थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो । अरुले के गर्छ भन्दा पनि आफूले के गर्छु भन्ने भावनाका साथ काम गर्नुपर्छ । विस्तारै सकारात्मक परिवर्तन हुन्छ भन्ने सोचाइका प्रजिअ शाहीले पहुँचको आधारमा नभइ कानुनको आधारमा सेवा प्रवाह हुनेगरेको बताउनुभयो ।

    पहिलेको र अहिलेको प्रशासन

    सीमित स्रोतसाधनको सही सदुपयोगसँगै व्यवस्थापन गर्न सकेको खण्डमा धेरै बजेट आवश्यक नपर्ने प्रजिअ शाहीको भनाइ छ । नागरिक मैत्री सेवाका लागि कार्यालय वरपरको वातारणलेसमेत प्रभाव पार्ने भन्दै प्रजिअ शाहीले अशक्तलाई लक्षित गरी भ¥याङमा रेलिङ लगाउनेदेखि चिसो तथा तातो पानीकोसमेत व्यवस्था रहेको छ ।

    गोदाम घर निर्माणदेखि पर्खालसमेत लगाएर यहाँको वातावरणमा थप रौनकता थपिदाँ प्रमुख जिल्ला अधिकारीको रुपमा गणेश विक्रम शाही धेरै पहिला आउनुपर्ने र लामो समयसम्म बस्नुपर्ने स्थानीय व्यापारी मनिकुमार राईको भनाइ छ । “विगतको दिनमा छिट्टै घर जाने कर्मचारी अहिले त रातिसम्म देखिन्छ”, प्रशासनकै गेट अगाडि फेन्सी व्यापार गर्नुहुने राईले भन्नुभयो, “अब आउने प्रशासकले यसलाई निरन्तरता दिन आवश्यक छ ।”

    रचनात्मक कामको सुरुआत : गृह मन्त्रालय

    गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रदीपकुमार कोइरलाले सोलुखुम्बु प्रशासनको कार्यको मूल्याङ्कन हुने बताउनुभयो । तत्काल कर्मचारीको लागि कुनै थप सेवा सुविधा उपलब्ध गराउने कार्यक्रम नभए पनि यस विषयमा छलफल भइरहेको उहाँको भनाइ छ । “सोलुखुम्बुमा रचनात्मक कामको थालनी भएको छ”, उहाँले भन्नुभयो, “यस विषयमा हामी जानकार छांै, यसको उचित मूल्याङ्कन हुन्छ ।”-रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.