सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पवित्र तीर्थस्थल देवघाटमा माघे सक्रान्ति मेलाको तयारी तीव्र


  •    न्युजभित्तो/२१ पुष २०७८, बुधबार ११:०३ 
  • रत्ननगर, २१ पुस । चितवन, नवलपुर र तनहुँको सिमानामा पर्ने पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सक्रान्ति मेलाको तयारी तीव्र पारिएको छ । मेला व्यवस्थित गर्न तीनवटै जिल्लामा गरी ७५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

    देवघाट मेला व्यवस्थापन मूल समितिको मङ्गलबार भरतपुरमा बसेको बैठकले मेलालाई सभ्य र भव्यरुपमा सम्पन्न गर्नेबारे छलफल भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी अशमान तामाङले देवघाट मेलालाई व्यवस्थित गर्न नवलपुर र तनहुँसँग समन्वय गरी काम थालिएको बताए ।

    “माघे सङ्क्रान्ति मेलाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्छौँ”, उनले भने, “स्नानको समयमा कुनै दुर्घटना नहोस् भनेर स्नानघाट नजिकै गोताखोर प्रहरीसमेत तयारी अवस्थामा राख्छौँ ।”

    प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले चितवनको देवघाटतर्फ प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ४८१ सुरक्षाकर्मी परिचालन गरिने बताए । त्यस्तै तनहुँतर्फ १५० प्रहरी परिचालन गरिने इलाका प्रहरी कार्यालय देवघाटका प्रमुख सुशील लामिछानेले बताए ।

    नवलपुरतर्फ ६० भन्दा बढी प्रहरी परिचालन गरिने छ । सशस्त्र प्रहरी बल १७ नम्बर गण आँपटारीका प्रहरी नायब उपरीक्षक सुशील शाहीले विपद् व्यवस्थापन गर्नसमेत सशस्त्र प्रहरी परिचालन गर्न लागिएको बताए ।

    मेला अवधिभर लोडसेडिङ नहुने गरी तयारी गरिएको नेपाल विद्युत् प्राधिकरण भरतपुर शाखाले जनाएको छ । शाखाका सूचना अधिकारी राजेन्द्रप्रसाद पौडेलले देवघाटमा बत्ती मर्मत र आकस्मिक कामका लागि पुस ३० गतेदेखि नै ६ जनाको प्राविधिक टोली परिचालन गरिने बताए । देवघाटमा क्षेत्रमा भरतपुर–१ को देवघाट र भरतपुर–२९ को दासढुङ्गाबाट विद्यत् आपूर्ति गरिएको छ ।

    ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवानराज थापाले माघ १ गते देवघाटमा एकतर्फीमात्रै यातायात सञ्चालन गर्नेगरी रुट निर्धारण गरिएको बताए । “हामीले देवघाट जानका लागि रामनगर र ठिमुराबाट रुट निर्धारण गरेका छौँ”, उनले भने, “रामनगर र ठिमुराबाट देवघाट प्रवेश गरेका सवारीसाधन वागीश्वरी, आँपटारी हुँदै नारायणगढ फिर्ता हुनेछन् ।”

    शववाहन र एम्बुलेन्सबाहेकका सवारीलाई आँपटारीबाट देवघाट जान पूर्ण रूपमा निषेध गरिने थापाले बताए । काठमाडौँ तथा पोखराबाट देवघाट स्नानका लागि आउने सवारीलाई दासढुङ्गाको पुल तरेर तनहुँतर्फ पठाइने थापाले बताए ।

    सो क्रममा चितवन र तनहुँको देवघाटलाई जोड्ने झोलुङ्गे पुल जीर्ण भएकाले पुलमा लाइन लगाएर तीर्थयात्रीलाई वारपार गराइने छ । पुलमा एकपटकमा २०० जनालाई मात्रै छोडिने र उनीहरु वारपार भएपछि मात्रै अर्को समूहलाई तर्न दिइने छ ।

    त्रिशूली र कालीगण्डकी नदीको वेणी सङ्गममा स्नानका लागि जान चितवन र नवलपुरतर्फबाट र्याफ्टिङ डुङ्गासमेत सञ्चालन हुनेछन् । सो क्षेत्रमा कम्तीमा ३० र्याफ्टिङ डुङ्गा सञ्चालन गरिने र्याफ्टिङ डुङ्गा संयोजक सिर्जन शर्माले बताए । नदी तरेर वेणीमा जानका लागि एकतर्फी भाडा रु ३५ तोकिएको छ ।

    देवघाट क्षेत्र विकास समितका अध्यक्ष बद्रीप्रसाद अधिकारीले तीनवटै जिल्लासँग समन्वय गरेर देवघाट मेलाको तयारी भइरहेको बताए । मेलामा पाँच लाखभन्दा बढी दर्शनार्थी आउने अपेक्षा गरिएको छ । तीर्थयात्रीलाई आगो ताप्न धुनीको र पानीको व्यवस्थापन तथा सवारी पार्किङको व्यवस्थापन भइसकेको घिमिरेको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.