सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उखान पछ्याउँदै जाँदा १९२ वर्षपछि भेटियो ‘हङरायो’


  •    न्युजभित्तो/१६ पुष २०७८, शुक्रबार १३:१५ 
  • झापा,१६ पुस । ‘हाङ्ग्रोले पाङ्ग्रो निल्छ’ भन्ने उखान पूर्वी पहाडमा निकै चर्चित छ । यही उखानको सहाराले चरा खोजकर्ता देवेन्द्र खरेललाई दुर्लभ पन्क्षी रुफ्स नेक्ड हर्नबिल (हङरायो)को कीर्तिमानी तस्बिर खिच्न सफलता मिलेको छ ।

    पहाडमा पाइने पाङ्ग्रो एक प्रकारको लहरे वनस्पतिको फल हो । जो ज्यादै कडा र चराले खान नसक्ने आकारको हुन्छ । उखानअनुसार एउटा चरा छ, जसले पाङ्ग्रो देख्नेबित्तिकै हतार–हतार खान्छ । मानिसहरूले हतारमा कुनै वस्तु खाँदा ‘हाङ्ग्रोले पाङ्ग्रो’निलेकोझैँ भनेर उखान जोड्ने चलन छ ।

    चरा खोजकर्ता खरेलले इलामको सूर्योदय नगरपालिका-१ सीमधापमा यही पुस ६ गते एक जोडी ‘हङरायो’को तस्बिर खिचेको हो । लोप भएको ठानिएको यो चरा नेपालमा १९२ वर्षपछि उनले खिचेको हुँदा यसलाई ठूलो उपलब्धिका रूपमा लिइएको छ ।

    नेपालमा चराका विषयमा खोज गरेका ब्राइन हड्सन नामका विदेशी विज्ञले सन् १८२९ मा नेपालमा ‘हङरायो’ भेटिएको उल्लेख गरेका थिए । त्यसयता नेपालमा यो पंक्षीको अस्तित्व कसैले पुष्टि गर्न सकेको थिएन । विज्ञहरूले विभिन्न दस्तावेजमार्फत यो चरा नेपालमा लोप भइसकेको जानकारी दिने गरेका थिए ।

    चरा खोजीमा रुचि राख्दै आएका मेचीनगर नगरपालिका–६ काँकडभिट्टा निवासी वाइल्ड लाइफ फोटोग्राफर खरेललाई चराविद् कमल मादेनले ‘हाङ्ग्रोले पाङ्ग्रो निल्छ’ भन्ने उखान सुनाउँदै नेपालमा हङरायोको अस्तित्व हुनसक्ने बताउने गरेका थिए । मादेनले दिएको प्रेरणाका आधारमा नै उखान पछ्याउँदै जाँदा हङरायोको अस्तित्व पुष्टि गर्ने अवस्थासम्म पुर्‍याएको खरेलले बताए ।

    ‘मादेन सरले मलाई हङरायो खोज्न प्रेरित गर्नुभयो, मैले पनि सानैदेखि ‘हाङ्ग्रोले पाङ्ग्रो निल्छ’ भन्ने उखान सुन्दै आएको थिएँ .’ उनले भने, ‘त्यही हङरायोलाई गाउँतिर पाङ्ग्रो निल्ने हाङ्ग्रो भन्दा रहेछन् ।’ पत्रकार सम्मेलन गरी उनले आफूले खिचेका हङरायोका तस्बिर सार्वजनिक गराउनुका साथै नेपालमा भएका चराहरूको संरक्षण जरुरी भएको बताए ।

    ‘हङरायो’ चरा अस्तित्वमा रहेको पुष्टि गरिदिएपछि चरासम्बन्धी खरेलको खोजको प्रशंसा भइरहेको छ । साथै पाङ्ग्रा निल्ने दुर्लभ चरा पूर्वी नेपालमा डुलिरहेको छ भन्ने सत्य सावित भएको छ । ‘चराको खोजीका लागि इलामको जङ्गलमा डुलिरहेका बेला अचानक अनौठो चराको जोडी पखेटा फट्फटाउँदै एउटा रुखबाट अर्को रुखमा उडेर गएको देखेँ’, खरेलले चरा भेट्टाउँदाको क्षण सम्झिँदै भने, ‘हत्तपत्त क्यामेरा निकालेर ४५ सट तस्बिर खिचेर हेर्दा नेपालमा लोप भइसकेको घोषणा गरिएको हङरायो पो रहेछ भन्ने थाहा भयो ।’

    धनेष चराको जस्तो मोटो चुच्चो र टाउकामा सिङजस्तो देखिने कडा भाग भएको ‘हङरायो’ निकै लामो र ठूलो हुने खरेलले बताए । झापाको मेचीनगरमा अरू तीन प्रकारका ‘हङरायो’को प्रजाति फेला पारिसकेको भए पनि रुफ्स नेक्ड हर्नबिल प्रजातिको चरा फेला पार्नु आफ्नो वाइल्ड लाइफ फोटोग्राफी जीवनका लागि अभूतपूर्व उपलब्धि बनेको उनले सुनाए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेक्ससको अस्टिनमा कन्सुलर घुम्ती शिविर: २७२ नेपालीले लिए सेवा
    बेलौरीमा हाटबजार पुनः सञ्चालन
    हराउन थाले घुम्ती गोठमा भैँसी पाल्ने चलन
    • कञ्चनपुरमा सिँचाइ क्षेत्र विस्तार भएसँगै गहुँउत्पादनमा वृद्धि
    • क्यान्सर अस्पतालको अध्यक्ष खुला आवेदनबाट चयन गरिने
    • ललितपुरको बालकुमारीमा दुई अर्ब लागतमा ‘सबस्टेशन’ निर्माण हुने
    • सञ्चार मन्त्रालयद्वारा कार्यप्रगति सार्वजनिक: प्रशासनिक तथा प्रविधिमैत्री सेवा प्रवाहमा उल्लेख्य सुधार

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.