सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन–पर्सा कम्प्लेक्सः पहिलो ब्लकमा बाघ सर्वेक्षणको काम सकियो


  •    न्युजभित्तो/१२ पुष २०७८, सोमबार १०:२२ 
  • नारायण अधिकारी

    चितवन, १२ पुस । राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्सको पहिलो ब्लकमा बाघ सर्वेक्षण सम्पन्न भएको छ । पहिलो ब्लकअन्तर्गत त्रिवेणी, चोरमारा, नवलपुर हुँदै कसरा, सौराहा र बरण्डाभार क्षेत्रमा गत मङ्सिर १९ गतेदेखि क्यामेरा राखेर सर्वेक्षण गरिएको थियो ।

    चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार ती क्षेत्रमा राखिएका क्यामेरा झिक्ने काम सकिएको छ । उहाँले भन्नुभयो, “पहिलो व्लकका क्यामेरा झिक्ने काम सम्पन्न भएको छ । दोस्रो ब्लकमा क्यामेरा राख्न सुरु गरिएको छ ।” आज दिनभरमा दोस्रो ब्लकमा क्यामेरा राख्ने कामसमेत सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । पहिलो ब्लकमा राखिएका क्यामेरा २१ दिनपछि झिकिएको हो । यस व्लकलाई २८० ग्रिडमा विभाजन गरी ५६० क्यामेरा प्रयोग गरिएको थियो । पहिलो ब्लकमा सर्वेक्षणका लागि १०० जनशक्ति परिचालन गरिएको थियो । पहिलो ब्लकमा सर्वेक्षणका लागि १३ स्थानमा क्याम्प खडा गरिएको जनाउँदै उहाँले प्रत्येक क्याम्पमा छदेखि आठ जनासम्म गणक तथा प्राविधिक परिचालन गरिएको जानकारी दिनुभयो ।

    दोस्रो ब्लकअन्तर्गत सौराहादेखि पूर्वचितवनको पूर्वी भाग, माडीको पूर्वी भाग, ठोरी हुँदै शिकारीबाससम्म सर्वेक्षणको सुरु गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार यस ब्लकलाई २९० ग्रिडमा विभाजन गरी सर्वेक्षण गरिँदै छ । यहाँ करिब ५८० स्वचालित क्यामेरा प्रयोग गरिने निकुञ्जले जनाएको छ । निकुञ्जले यस वर्ष क्यामेरा ट्रयापिङको विधिबाट सर्वेक्षण गरिरहेको छ । निकुञ्जले प्रत्येक चार वर्ग किलोमिटर क्षेत्रफललाई एउटा ग्रिड मानेर एउटा ग्रिडमा एक जोडी क्यामेरा जडान गर्ने गर्दछ । निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बाघ सर्वेक्षणका लागि क्याम्प निर्माण गर्दा निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको गणको नजिकै पारिएको छ । काम गर्दा दुर्घटना हुनसक्ने भएकाले उच्च सावधानीका साथ काम गरिएको उहाँले बताउनुभयो । दोस्रो ब्लकमा पनि सरदर २२ दिन बाघ सर्वेक्षण गरिने उहाँले जानकारी दिनुभयो ।

    दोस्रो ब्लकमा काम सकिएलगत्तै तेस्रो ब्लकमा काम सुरु गरिने छ । तेस्रो ब्लकअन्तर्गत पर्साको बाँकी भाग र रौतहटसम्मको वन क्षेत्रमा क्यामेरा राखिने छ । सोही जनशक्ति तेस्रो ब्लकमा समेत परिचालन गरिने छ । चितवन राष्ट्रिय निकुञ्जका केही कर्मचारी घट्ने छन् भने पर्साका थपिने निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको कम्प्लेक्समा काम सक्नका लागि करिब तीन महिना लाग्ने छ । बाघ सर्वेक्षणमा क्यामेरा ट्रयाप, रेञ्ज फाइन्डर, जिपिएस, रेकर्ड फर्मलगायतका सामग्री प्रयोग हुने सूचना अधिकारी तिवारीले बताउनुभयो ।

    अहिले क्यामेराले सङ्कलन गरेका फोटो ल्यापटप र कम्युटरमा जम्मा गर्ने काम भइरहेको छ । तीनवटै ब्लकमा सर्वेक्षणको काम सकिएलगत्तै क्यामेराबाट खिचिएका फोटो एकै ठाउँमा जम्मा गरी विज्ञसहितका टोलीले सफ्टवेयरको माध्यमबाट अन्तिम नतिजा निकाल्ने उहाँले जानकारी दिनुभयो । अहिले भने ल्यापटप र कम्युटरमा सार्ने काम मात्र हुनेछ । बाघ सर्वेक्षणको कामअन्तर्गत बर्दिया र बाँके ब्लकमा गत मङ्सिर २९ गतेबाट काम थालिएको छ भने शुक्लाफाँटा र लालझाडी क्षेत्रमा यहाँको दोस्रो ब्लकको काम सकिएपछि यही क्यामेरा प्रयोग गरेर सर्वेक्षण थालिने जनाइएको छ ।

    सर्वेक्षण सम्पन्न गर्नका लागि करिब रु चार करोड खर्च हुने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।सर्वेक्षणका लागि जमिनबाट करिब ४५ देखि ६० सेन्टिमिटरको उचाइमा स्वचालित क्यामेरा जडान गरिनेछ । क्यामेरा जडान भएको क्षेत्रबाट बाघ हिँडेको अवस्थामा स्वचालित क्यामेराले बाघको फोटो खिच्ने उहाँले बताउनुभयो । तस्बिर अध्ययनपछि जुलाई २९ विश्व बाघ दिवसका अवसरमा तथ्याङ्क सार्वजनिक गरिने योजना रहेको छ । सन् २००९ देखि राष्ट्रियरुपमा नै बाघको सर्वेक्षण सुरुआत गरिएको थियो । हालसम्मको नतिजालाई हेर्दा नेपालमा सन् १९९५÷९६ मा ९३ देखि ९७ वटासम्म वयस्क बाघ रहेको अनुमान गरिएको थियो । सन् २००९ मा १२१, सन् २०१३ मा १९८ र सन् २०१८ को सर्वेक्षणअनुसार २३५ वटा वयस्क बाघ रहेको अनुमान गरिएको थियोे । सन् २०१८ मा गरिएको बाघ गणनामा नेपालमा २३५ वयस्क बाघ फेला परेका थिए । त्यतिबेला चितवनमा ९३, बर्दियामा ८७, पर्सामा १८, शुक्लामा १६ र बाँकेमा २१ बाघ फेला परेका थिए । यो सङ्ख्या बढेको अनुमान छ ।

    बाघ सर्वेक्षणको वन तथा वातावरणमन्त्री रामसाहयप्रसाद यादवले स्वचालित क्यामेरा सञ्चालन गरी शुभारम्भ गर्नुभएको थियो । नेपालका चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज र आसपासका राष्ट्रिय वन क्षेत्रमा बाघ पाइन्छ । ती क्षेत्रमा गणना गर्न सुरु गरिएको हो । सन् २०१० मा रसियाको सेन्ट पिटर्सवग भएको बाघ पाइने १३ मुलुकका राष्ट्र प्रमुखको बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या २५० पु¥याउने प्रतिबद्धता व्यक्त गरेको थियो । तत्कालीन समयमा नेपालका निकुञ्जमा १२१ बाघ रहेको तथ्याङ्क थियो । दोब्बरभन्दा बढी सङ्ख्या बनाउने नेपालको प्रतिबद्धता रहेको छ । सो प्रतिबद्धता पूरा भएको अनुमान सरोकारवालाले गरेका छन् । नेपालमा हरेका चार÷पाँच वर्षको अन्तरमा बाघ गणना गर्ने गरिन्छ । अहिले निकुञ्ज र वन क्षेत्रमा बाघको चहलपहल बढी देखिएसँगै यो सर्वेक्षणसँगै बाघको सङ्ख्या बढेको तथ्याङ्क आउने विज्ञको अनुमान छ । निकुञ्जमा घुम्न आएका पर्यटक र संरक्षणकर्मीले बाघ देखेको जनाउँदै आएका छन् ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.