सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कानुन संशोधन नहुँदा राज्यविहीन हुनेको सङ्ख्या बढ्दै


  •    न्युजभित्तो/११ पुष २०७८, आईतवार १४:४१ 
  • काठमाडौँ, ११ पुस  । नेपालको संविधान २०७२ सँग बाझिएका कानुन एक वर्षभित्र संशोधन गरिसक्नुपर्ने संविधानको धारा ३०४ मा व्यवस्था छ । तर वर्षै वितिसक्दा पनि कार्यान्वयन नभएपछि राज्यविहीन भई जीवन बिताउन बाध्य हुनेको सङ्ख्या बढ्न थालेको छ ।

    विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो । त्यसको एक वर्षमा नेपाल नागरिकता ऐन संशोधन विधेयक पारित नहुँदा हजारौँ नेपालीले स्वदेशमै राज्यविहीन भई बाँच्न बाध्य हुनुपरेको महिला, कानुन र विकास मञ्चले आज आयोजना गरेको राज्य विहीनतासम्बन्धी संयुक्त महासन्धिको अनुमोदनको आवश्यकता विषयक छलफल कार्यक्रमका वक्ताले सुनाउनुभएको हो । विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन छ ।

    प्रतिनिधिसभा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले संविधानमा सबै नेपाली नागरिकलाई नागरिकता दिने सुनिश्चित गरिए पनि ऐन संशोधन नहुँदा कार्यान्वयन हुन नसकेको बताउनुभयो । गर्भमा नौ महिना राखेर बच्चा जन्माउने आमाले नै आफ्ना नाममा सन्तानलाई नागरिकता दिन नसक्ने व्यवस्था कानुन संशोधन नभएकैले संस्थागत बनिरहेको उहाँले सुनाउनुभयो ।

    “आमाका नाममा छोराछोरीलाई नागरिकता दिँदा भाञ्जाभाञ्जीले पनि नागरिकता पाउँछन् भन्ने डरले यस्तो व्यवस्था गरिनु न्यायोचित छैन, जन्मदर्ता र कोरोनाको खोप लगाउनसमेत नागरिकता चाहिने व्यवस्था छ, तर नागरिकता पाउन नसक्दा धेरैले राज्यविहीन भएर बाँच्नु परेको छ”, उहाँले भन्नुभयो । देवानी र फौजदारी संहितामा केही विभेदकारी प्रावधान रहेकाले संशोधनको तयारीमा समिति लागेको जानकारी सभापति पोखरेलले गराउनुभयो ।

    राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले आफ्नो कार्यालयमा नागरिकता पाउन नसकेको सम्बन्धमा दैनिक पाँचवटा मुद्दा आउने गरेको बताउनुभयो । राज्यविहीनताको समस्या जटिल बन्दै गएकाले संसदीय समितिले समाधानका लागि छिटो पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लीली थापाले बाबु नभएकै कारण लाखौँ बालबालिकाको जन्मदर्ता हुन नसकेको बताउनुभयो । आयोगले प्रकाशन गर्न लागेको बाल अधिकारसम्बन्धी प्रतिवेदनमा यस्तो रहस्य खुलेको उहाँको भनाइ छ । महिलालगायतलाई विभेद् गरिएको देवानीसंहिता छिटोभन्दा छिटो संशोधन गर्ने गरी पहल गर्न उहाँले मानव अधिकार समितिका सभापति पोखरेलसँग माग गर्नुभयो ।

    मञ्चका अध्यक्ष गीता अर्याल, कार्यकारी निर्देशक सविन श्रेष्ठ, अधिवक्ता नवीनकुमार श्रेष्ठलगायतले विभिन्न कारण नागरिकता नपाई राज्यविहीन भएकामा आत्महत्याका घटना बढेकाले छिटो समस्या समाधानको पहल गरिदिन माग गर्नुभएको थियो । नेपालगञ्ज र काठमाडौँमा एक÷एक जनाले नागरिकता नपाएकै कारण आत्महत्या गरेको मञ्चले जनाएको छ ।

    नागरिकता नहुँदा बैंक खाता खोल्न नपाउने, सिमकार्ड नपाउने, रोजगारी नपाउने भएकाले युवामा तनाव भई आत्महत्या गर्ने दुस्साहस गर्ने क्रम बढेकाले पनि समस्या समाधानमा छिटो पहल गरिनुपर्नेमा उहाँहरुको जोड थियो । मोरङको कानेपोखरीमा रहेका ३१ हजार सन्थाल जातिमध्ये ११ हजारसँग मात्र नागरिकता भेटिएको तथ्य अध्ययनका क्रममा फेला परेको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।

    आमाका नाममा नागरिकता पाउने संवैधानिक व्यवस्था भए पनि ऐन संशोधन नभएकाले कार्यान्वयनमा असहजता आएको छ । सर्वोच्च अदालतमा मुद्दा दायर गरेर फैसला भएकाले मात्र आमाको नाममा नागरिकता पाएका छन् । यसरी पाइएको नागरिकताको तल नोट भन्ने उल्लेख गरी अदालतको निर्णय अनुसार नागरिकता दिइएको वाक्यांश मितिसहित लेखिनुले पनि नागरिकको अपमान भएको भन्दै उहाँहरुले आपत्ति जनाउनुभएको छ ।

    नागरिकता ऐन संशोधन विधेयकलाई प्राथमिकता दिएर अघि बढाइनुपर्नेमा सरोकार भएकाले माग गर्दै आएका छन् । नागरिकता नपाएर राज्यविहीन हुने आधिकारिक तथ्याङ्क कुनैपनि निकायसँग छैन । गैरसरकारी क्षेत्रबाट भएको अध्ययनका आधारमा हजारौँले यो समस्या भोगिरहेका छन् ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.